हल्दीबारी, झापा । शुभ दीपावलीको अवसर पारेर हल्दीबारी भेट्रान्स खेलकुद आयोजक समितिको आयोजनामा हल्दीबारी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी ‘हल्दीबारी भेट्रान्स खेलकुद २०८३’ को उपाधि हल्दीबारी ‘ए’ ले जितेको छ।
सोमबार भएको रोमाञ्चक फाइनल खेलमा झिलझिले भेट्रान्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै हल्दीबारी ‘ए’ ले विजेता ट्रफी उचालेको हो। प्रतियोगितामा पहिलो स्थान हासिल गरेसँगै विजेता हल्दीबारी ‘ए’ ले १५ हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको झिलझिले भेट्रान्सले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा हल्दीबारी ‘ए’, हल्दीबारी ‘बी’, टुर्केनी भेट्रान्स, ‘ढल्कियो जोवन’, चन्द्रगढी भेट्रान्स, झिलझिले भेट्रान्स, हिमली भेट्रान्स, कटरडाँगी भेट्रान्स, ज्ञानेचोक भेट्रान्स र ‘फर्कियो जोवन’ भेट्रान्स गरी कुल १० वटा टिमको उत्साहजनक सहभागिता रहेको थियो।
दिपावलीको पावन अवसर पारेर आयोजित यस किसिमका खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास हुनुका साथै आपसी भाइचारा, सद्भाव र सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण सहयोग पुग्ने खेल आयोजक समितिका सदस्य एवं हल्दीबारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिएका छन्।


