झापा। झापाको भद्रपुर नगरपालिका–४ का वडाध्यक्ष हंशधर राजवंशी जुवाको खालबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भद्रपुर नगरपालिका–६ मन्त्रीचौकस्थित राजवंशी होटलबाट वडाध्यक्ष राजवंशीसहित पाँच जनालाई गएराति नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने अन्यहरूमा होटल सञ्चालक महादेव राजवंशी, भद्रपुर–४ स्थित पशुपति आधारभूत विद्यालयका पूर्वशिक्षक भुवन लवट, भद्रपुर–६ का निर्मल राजवंशी र गम्बु माझी रहेका छन्।
प्रहरीका अनुसार जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ।
यसैबीच, पक्राउ परेका वडाध्यक्ष राजवंशीलाई सार्वजनिक नगरिकन नै उन्मुक्ति दिलाउन स्थानीय राजनीतिक दलका अगुवाहरू सक्रिय बनेका छन्। घटनालाई सामसुम पार्दै उनलाई हिरासतमुक्त गराउन राजनीतिक दबाब बढाउने प्रयास भइरहेको स्थानीय पत्रकार पुकार राजवंशीले जानकारी दिएका छन्।
प्रहरीले भने घटनाको थप अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
