कोलकाता । भारतको कोलकातास्थित नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बईका लागि उडान भर्न लागेको एयर इन्डियाको जहाजमा विमान अपहरण (हाईज्याक) को धम्कीपूर्ण सन्देश भेटिएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ।
उडान नम्बर AI 772 को एअरबस A320neo जहाज उडानको तयारीमा रहेको बेला बिहान करिब १०:२० बजे क्याबिन क्रु सदस्यहरूले शौचालयको ऐनामा लिपस्टिकले लेखिएको अपहरणको धम्कीपूर्ण सन्देश देखेका थिए। शौचालयमा सन्देश देखिनेबित्तिकै क्याबिन क्रुले पाइलटलाई खबर गरेका थिए भने पाइलटले लगत्तै एयर ट्राफिक कन्ट्रोल (ATC) लाई ‘हाईज्याक अलर्ट’ सन्देश पठाएका थिए।
आपतकालीन सूचना प्राप्त हुनासाथ मानक सञ्चालन प्रक्रिया (SOP) अनुसार विमानलाई तुरुन्तै धावनमार्गबाट हटाएर सुरक्षित ‘आइसोलेसन बे’ मा लगिएको छ।
घटनालगत्तै विमानस्थल सुरक्षा बल, केन्द्रीय औद्योगिक सुरक्षा बल (CISF), फायर ब्रिगेड र बम डिस्पोजल टोली परिचालन गरिएको छ। विमानमा सवार सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर व्यापक सुरक्षा जाँच तथा खानतलासी भइरहेको छ।
सुरक्षा एजेन्सीहरूले शौचालयमा उक्त सन्देश कसले र कहिले लेख्यो भन्नेबारे यात्रुहरूसँग सोधपुछ गर्नुका साथै घटनाको गहन अनुसन्धान सुरु गरेका छन्।
