समाचार
हल्दिबारी संवाददाता ४९ मिनेट अगाडि

इजरायलद्वारा ५०० केजी विस्फोटक क्षमताको ‘सुपर आइस’ क्रुज मिसाइल सार्वजनिक

एजेन्न्सी / झापा । इजरायली रक्षा प्रविधि कम्पनी ‘राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्स’ ले आफ्नो नयाँ र परिष्कृत ‘सुपर आइस’ क्रुज मिसाइल सार्वजनिक गरेको छ। यो कम्पनीको चर्चित ‘आइस ब्रेकर’ मिसाइल शृङ्खलाको नयाँ रूप हो, जसले आफ्ना पुराना संस्करणको तुलनामा चार गुना ठूलो परिमाणको विस्फोटक पदार्थ (वॉरहेड) बोक्न सक्ने क्षमता राख्छ।

​राफेलका अनुसार ‘सुपर आइस’ मिसाइललाई बहुउपयोगी प्रणालीका रूपमा तयार पारिएको छ। यस मिसाइललाई लडाकु विमान, मिसाइल बोट तथा जमिनमा रहेका लन्चरहरू गरी जमिन, हावा र समुद्र तीनवटै माध्यमबाट प्रक्षेपण गर्न सकिनेछ। विशेष गरी इजरायली वायुसेनाका प्रमुख लडाकु विमानहरू F-35, F-16 र F-15 बाट यसलाई सजिलै प्रहार गर्न सकिने प्रविधि मिलाइएको छ।

​तकनीकी रूपमा यो मिसाइल करिब ५०० किलोग्राम (१,००० पाउन्ड) सम्मको वॉरहेड बोक्न सक्षम छ। यसमा जडान गरिएको इलेक्ट्रो-अप्टिकल गाइडन्स सिस्टम र उच्च-सटीकता ‘इमेज-म्याचिङ’ प्रविधिले शत्रुको इलेक्ट्रोनिक अवरोधका बिच पनि तोकिएको निशानामा अचूक प्रहार गर्न मद्दत पुर्‍याउँछ। कम्पनीले मिसाइलको आधिकारिक दूरी र गतिको विवरण गोप्य राखे पनि यसअघिको ‘आइस ब्रेकर’ मिसाइलको मारक क्षमता ३०० किलोमिटरभन्दा बढी र गति ०.८ देखि ०.९ म्याक रहेकाले नयाँ मिसाइल त्योभन्दा बढी घातक र तीव्र गतिको हुने अनुमान गरिएको छ। कम उचाइमा उड्ने र स्वचालित रूपमा लक्ष्यतर्फ अघि बढ्ने भएकाले शत्रुको राडारले यसलाई सजिलै पत्ता लगाउन सक्दैन।

​मध्यपूर्वमा इजरायल र इरानबिच सम्भावित सैन्य टकरावको जोखिम बढिरहेका बेला इजरायलले यो नयाँ हतियार प्रदर्शन गरेको हो। केही दिनअघि मात्रै इरानले आफ्ना बैलिस्टिक मिसाइलहरूमा राख्दै आएको २,००० किलोमिटरको दायरा (रेंज लिमिट) सम्बन्धी प्रतिबन्ध हटाएको घोषणा गरेको थियो। इरानको उक्त कदमलगत्तै इजरायलले रक्षा क्षमता अभिवृद्धि गर्दै नयाँ प्रविधिको मिसाइल अगाडि ल्याएको छ। सन् २०२१ मा पहिलोपटक आइसब्रेकर मिसाइल सार्वजनिक गरेको राफेल कम्पनीले दुई वर्षभित्रै १ अर्ब डलरभन्दा बढीको व्यापार गरिसकेको भए पनि यो नयाँ ‘सुपर आइस’ मिसाइल इजरायली सेना वा अन्य कुनै देशले खरिद गरिसकेका छन् कि छैनन् भन्नेबारे भने स्पष्ट पारेको छैन।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)