नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा चितवनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका छन् । आज (शुक्रबार)चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले यस्तो बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका बादलले ‘पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ’ भने । त्यस्तै उनले माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रचण्डको साथ छोडेको बताए । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि दाबी गरे । यसअघि २०६४ मा बादलले चितवनबाटै चुनाव जितेका थिए ।

बादलले एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयन भए पनि आफ्नो जिम्मेवारी कायमै रहने कुरा बताए। बादल पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रचण्डको साथ छाडेर ओलीतिर आएका थिए । त्यस्तै अर्को प्रसंगमा बादलले एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको बताए । दुवै नेताको गृहजिल्ला चितवन हो ।