कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका-८ बन्जरिया घर भएका ४३ वर्षीय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्याय रहेका छन् ।

२० वर्ष केद फैसला भएपछि विगत ११ वर्ष देखि फरार भोलानाथलाई भारतको मुम्बईमा लामोसमय लुकीछिपी बसिरहेकोमा केही समयदेखि कपिलवस्तु नगरपालिका-१ प्रशासन चोकमा डेरा लिई लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

२०६७ असोज ३१ गते साँझ कपिलवस्तु साबिक भलवारी गाबिस-८ सानो भलवारीमा मेला हेर्न गएका साबिक उदयपुर गाबिस-७ बस्ने मुनिम भन्ने सिताराम पासीलाई छेदी यादव, हरिहर कुर्मीले भोलानाथमार्फत् अन्य २ जना व्यक्तिहरूलाई १ लाख रुपैयाँ दिई गोली प्रहार गरी हत्या गराएको घटनामा अदालतले उनीहरूउपर उक्त फैसला गरेको थियो ।
छेदीलाई २०६८ भदौ ४ गते र हरिहरलाई २०६८ असोज २४ गतेनै प्रहरीले पक्राउ गरेको थियो । भोलानाथलाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको तथा अन्य २ जना फरार प्रतिवादीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।