झापा, २७ साउन । अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
आदित्यको साथबाट चाँदीको १ थान सिक्री, टेलिकमको ५० दरको १९ थान रिचार्ज कार्ड, छिरिङको साथबाट चाँदीको औँठी २ थान, चाँदीको पाउजु–२ थान र चाँदीको सिक्री–१ थान, एनसेलको रु ५० दरको रिचार्ज कार्ड ५–थान र निखिलको साथबाट १ थान चाँदीको सिक्री बरामद गरिएको डीएसपी चन्दले बताए ।
प्रहरीले छिरिङको घरबाट लुकाइछिपाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक समेत फेला पारेको उनले बताए । गत साउन २५ गते राती साढे १० बजेको समयमा अर्जुनधारा–७ स्थित मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी भएको सूचना पछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ देवान चोकमा बसोबास गर्ने ती युवाहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।