द्रोण अधिकारी/भद्रपुर । स्थानीय तह–प्रहरी—विद्यालय सम्पर्क अन्तर्गत नेपाल प्रहरी—विद्यालय तथा भद्रपुर नगरपालिका बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लगायत विद्यालयका प्रधानाध्यापकहरू, सञ्चारकर्मी उपस्थिति रहेको थियो भने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले औचित्यमाथि प्रकाश पारेका थिए । प्रहरी चौकी जलथल झापाका प्रमुख, प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” को आवश्यकता, औचित्य र विषयवस्तु माथि आफ्नो प्रस्तुतीकरण पेश गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., नगरपालिकाको शिक्षा शाखाको तर्फबाट योगेन्द्र पौडेल, नगरपालिकाका सम्पूर्ण विद्यालयहरूको तर्फबाट भद्रपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ गुरूङले त्रि–पक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका थिए भने उक्त हस्ताक्षर पत्रको रोहवरमा भद्रपुर नगर प्रमुख गणेश पोखरेल तथा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, सामाजिक विकास समितिकी संयोजक सीता गुरागाई, झापाका प्रहरी प्रमुख मिलन केसी लगायतले शुभकामना मन्तव्य राख्दै असल नागरिक उत्पादनमा पाठ्यपुस्तक प्रभावकारी रहेको धारणा राखेका थिए ।