द्रोण अधिकारी/भद्रपुर । झापा सदरमुकाम चन्द्रगढी आइ पुग्ने जो कोहिले कुनै बेलाको पञ्चायतको निशान (रजत जयन्ती स्तम्भ) हाल ट्रेडयुनियन चौकको दक्षिण फर्केर हेर्दा देखिने भूत बंगला गणतन्त्र नेपालको प्रतीक भन्दा आश्चर्य लाग्न सक्छ ।

नेपाली राजनीतिको पछिल्लो उपलब्धी संघीय गणतन्त्र नेपालको प्रतीक भनिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको अलपत्र स्वरूपले भूत बंगलाको रूप धारण गर्दा व्यंग्य भाव अनुभव हुन सक्छ ।

संघीय गणतन्त्र नेपालको प्रतीकका रूपमा कोशी प्रदेश कै ठूलो सभा हल सहित बहुउपयोगी भवनको अवधारणा लिएर भण्डै एक दशकयता निर्माण कार्य थालनी भएको गिरिजाप्रसाद कोइराला स्मृति भवन निर्माण रोकिएर अलपत्र बनेको पनि ६ वर्ष पूरा भएको छ । भद्रपुर ८ मेची रङ्गशाला पश्चिममा रहेको झापा जिल्लाकै गौरवको आयोजना भनिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य गणतन्त्र नेपालको प्रतीकका रूपमा ९ वर्ष अगाडि निर्माण थालिए पनि निर्माण रोकिएकै कारण निर्माण सम्पन्न गर्ने मिति समेत गुज्रिएर अलपत्र परेको हो ।
निर्माण अलपत्र पर्नुमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन बिचको राजनीतिक स्वार्थको द्वन्द्व रहेको स्थानीयको भनाइ छ ।

२०७२ सालमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि गणतन्त्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा कोशी प्रदेमा सरकारी स्वामित्वमा रहेका भवनहरू मध्ये बहुउपयोगी हुने सर्वाधिक ठूलो सभाहल सहितको भवन बनाउन शुशिल कोइराला नेतृत्वको सरकारले वजेट छुट्याएर निर्माण कार्य थालेको थियो । पछिल्लो पटक निर्माण भएका सरकारहरूकै बेवास्ताका कारण निर्माण कम्पनीले अलपत्र छाडेको भद्रपुर ८ स्थित मेची रंगशाला पश्चिमपट्टि अधुरो तथा निर्माण अलपत्र रहेको भवन निर्माणमा चासो कम राजनीति बढी हुँदा गणतन्त्र नेपालमाथि नै व्यंग्य भइरहेको दृष्य देखिने गरेको छ ।

तत्कालिन सांसद कृष्णप्रसाद सिटौलाले संघीय गणतन्त्रको प्रतिकका रूपमा कोशी प्रदेशकै सर्वाधिक ठूलो क्षमता भएको सभाहल सहितको बहुद्देश्य व्यवसायिक भवनका रूपमा निर्माण थालनी गराएको भए पनि २०७४ को निर्वाचनयता लगातार दुई निर्वाचनमा झापा ३ मा परिजित भएपछि सरकारको नेतृत्व गर्ने दलको उपेक्षामा पर्दा अधुरो छाडिएको सो भवन अहिले लागु औषध सेवनकर्ता र अनैतिक क्रियाकलाप गर्ने अखडामा परिणत भएको छ ।

संघीय गणतन्त्र नेपाल संस्थागत गर्न भएको पहिलो निर्वाचन २०७४ मा काँग्रेस भित्र गणतन्त्रका शुत्रधार मानिएका सिटौलालाई चुनाव हराउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रका कट्टर बिरोधी राजेन्द्रप्रसाद लिङ्देनलाई एमालेको समर्थनमा निर्वाचित गराएपछि गणतन्त्रका नाममा बनाउन थालिएका संरचना बिस्तारै अलपत्र पर्ने क्रम देखिएको थियो । यो क्रम ६ वर्षयता निरन्तर रहिरहँदा जीपी भवन निर्माणको म्याद समेत ४ वर्षयता थपिएको छैन ।

२०७२ साल असार २८ मा तत्कालिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुशिल कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भव्य समारोहकाबीच संयुक्त रूपमा जिपी भवनको शिलान्यास गरेका थिए ।
ठूला चारै दलका शीर्ष नेताहरूले एकसाथ सो भवनको शिलान्यास गरेकोले तोकिएको समयमै भवन निर्माण हुने जनविश्वास रहेको थियो । काँग्रेस सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री कोइरालाको पालामा भवन शिलान्यासपछि देशमा आठ पटक प्रधानमन्त्रीमा यिनै दलबाट फेरबदल भइसकेको छ । तर कुनै पनि प्रधानमन्त्रीको पालामा प्राथमिकतामा नपर्दा सरकारी स्वामित्वको महत्वपूर्ण सो भवन ६ वर्षयता निर्माण नै रोकिएर अलपत्र छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट र तत्कालीन जिल्ला विकास समिति (हाल जिसस) को स्वामित्वमा भवन बन्न सुरु भएको थियो । प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रूपैयाँको लागतमा भवन निर्माणको ठेक्का लिएको थियो । दुई वर्षभित्र अर्थात् २०७४ असोज २८ गतेसम्म भवनको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । निर्माणाधीन भवनको लम्बाई ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ ।

सो भवनको पहिलो तलामा व्यावसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । त्यस्तै दोस्रो तलामा दुई वा तीन वटा बैंक अटाउने फ्ल्याट र तेस्रो तलामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभाहल बनाइने गरी प्लानिङ गरिएको छ । जसमा ९६ वटा पिलर रहेका छन् भने प्रत्येक पिलर दुई फिट दुई इन्चको वर्गाकारमा फैलिएका छन् । नौ वर्षको अवधिमा निर्माण कम्पनीले तीन तलाको फाउन्डेसन उठाएर त्यत्तिकै छाडिदिएको छ भने भवन निर्माणको काम बन्द भएको पनि ६ वर्ष पूरा भइसकेको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालका अनुसार जिपी भवनका लागि ५ करोड बजेट खातामै छ । उनले भने, ‘५ करोड रकम खातामा भए पनि अब भवन निर्माण सम्पन्न गर्न थप ५ करोड बजेट आवश्यक देखिएको छ ।

सरकारको लगानीको यती ठूलो गौरवको योजना अलपत्र छाडिएकोप्रति काँग्रेस सरकारमा नहुँदा निरन्तर चिन्ता व्यक्त गर्दै आइरहेका काँग्रेस नेता सिटौलाले आफ्नै पार्टीको गठबन्धन सरकारसित जिपी भवनको स्वामित्व ग्रहण गरी निर्माण चालु गराउन महत्वपूर्ण भूमिका खेल्न सकेका छैनन् ।

२०७४ सालपछि निरन्तर संघीय संसद रहेका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा ३ भित्र महत्वपूर्ण भएर पनि निर्माण अलपत्र परेका कुनै पनि भौतिक संरचना निर्माण सम्पन्न गराउन पहलनै गर्दैनन् । किनकी उनका पालामा कुनै उल्लेख्य योजना आउन सकेका छैनन् भने काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका पालामा आएका योजना निर्माण सम्पन्न भए जस सिटौलाकै पोल्टामा जाने देखिएपछि लिङ्देन राजनीतिक स्वार्थका कारण मौन बस्ने गरेका छन् ।

सिटौला र लिङ्देनको चुनावी भोटको राजनीतिक स्वार्थको द्वन्द्व बढाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका पनि निकै बलवान भएको स्थानीयको बुझाइ छ । जसको परिणाम देश र व्यवस्थाकै महत्व राख्ने प्रशेको शान बन्न सक्ने सरकारको स्वामित्व रहने झापाको सम्पत्ति जीपी भवन अलपत्र पर्दै विकृतिका लागि साक्षी बनिरहेको दृष्यले संघीय गणतन्त्र नेपालको शासन सत्तालाई व्यंग्य गरेर गिज्याइ रहेको छ ।

काँग्रेस नेता सिटौलाले झापा ३ मा केही काम गरेनन् भन्ने भाष्य भँजाएर एमाले समेतको भोटले दुई पटक संघीय संसद छिरेर केही महिना उपप्रधान तथा उर्जामन्त्रीको कुर्सीमा बस्न सफल लिङ्देनले पनि झापा ३ लाई पिछडिएको क्षेत्रकै रूमा राखेर राजनीति गरिरहेका छन् । यस क्षेत्रको उन्नति प्रगति हुने आयोजना निर्माण सम्पन्न हुन नदिने अनि विगतमा सत्तामा बस्नेले देश बिगारे भन्दै भाषण छाट्ने र आफू मात्र राम्रो बन्ने बाटोमा लागेका लिङ्देनले पनि झापा ३ मा केही गर्न नसक्ने प्रष्ट भएको छ ।

एक दशकयता खानेपानी, ग्रामीण सडक, पर्यटकीय क्षेत्र पूर्वाधार, सामुदायिक भवन, विद्यालय भवन लगायत झापा ३ मा दर्जनौ आयोजना अलपत्र छन् । यी आयोजना सम्पन्न हुँदा झापा ३ को मुहारमा आमूल परिवर्तन आउन सक्छन् तर पनि जनप्रतिनिधि पार्टी र भोटको राजनीति गरेर अलपत्र आयोजनामाथि खेलवाड गरेर जनमतको अपमान गरिरहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार