बिर्तामोड, मंसिर २९ । आजबाट सुरु हुने झापा कपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् ।
झापा ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
आज दिउँसो २ बजे बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता उद्घाटन हुने क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।
त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोट्र्स क्लब र झापा ११ सहभागी हुने भएका छन् ।
प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान स्तरोन्नति लगायतका काम पूरा भएको आयोजक झापा ११ का अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक केशवराज दाहालले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।