नेत्रविक्रम बिमली, बनियानी | असार १३
पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्था विश्वकै उत्कृष्ट भएको बताउँदै, नेपालले निरंकुशता विरुद्ध गरेको लामो संघर्षबाट प्राप्त उपलब्धिलाई बलियो नबनाई समृद्धि सम्भव नहुने धारणा व्यक्त गर्नुभएको छ।
झापा कचनकवल–६, बनियानीमा निर्माण हुन लागेको प्राविधिक शिक्षालयको शिलान्यास गर्दै सिटौलाले पुरानो सोचले नयाँ व्यवस्थामा काम गर्न नसक्ने उल्लेख गर्दै नयाँ विचार र दृष्टिकोण आवश्यक रहेको बताउनुभयो। ‘ आउ राजा आउ, देश बचाउ’ भन्नेहरुले केही गर्न सक्दैनन्,” भन्दै उहाँले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो।
सिटौलाले प्राविधिक शिक्षाले युवामा दक्षता र आम्दानी दुबै बढाउने बताउँदै स्वदेश वा विदेश जहाँसुकै पनि यो शिक्षा उपयोगी हुने उल्लेख गर्नुभयो।
उहाँले समयमा नै शिक्षालय भवन निर्माण सम्पन्न गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिँदै पैसाको अभावमा कुनै पनि काम नरोकिने स्पष्ट पार्नुभयो।
कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य बसन्त बानिया, पालिकाका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, सहरी विकास कार्यालय झापाका प्रमुख रमेश थिङलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
शिक्षालय ५६७० वर्गफुट क्षेत्रफलमा निर्माण हुनेछ भने यसको कुल लागत रु. ४ करोड ७९ लाख २१ हजार २८५ रहनेछ।
२०७९ असार २ गते नेपाल सरकारको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय र खण्डपुर निर्माण सेवा बीच सम्झौता भएको यो बहुवर्षीय योजना २०८४ जेठ २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिएको हो।
सो अवसरमा जग्गादाता रतनलाल राजवंशी, फडिन्द्र दाहाल र गायक सबिन लिम्बूलाई सम्मान गरिएको थियो। कार्यक्रमको अध्यक्षता शिक्षालयका संयोजक तथा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले गर्नुभएको थियो भने स्वागत वडा नं. ६ का अध्यक्ष चिन्तामणि खरेलले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण शिक्षालयका सचिव चेतन खतिवडाले गर्नुभएको थियो।

















