हल्दीबारी, झापा। शक्ति संघर्ष र आन्तरिक विवादबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ। नीति र नेतृत्वसम्बन्धी बहस चर्किँदै जाँदा कांग्रेस निर्णायक मोडमा पुगेको छ, जसलाई पार्टीको भविष्यसँग गाँसेर हेरिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा समूह र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा समूहबीचको विवाद तीव्र बन्दै गएको छ। विशेष महाधिवेशनमा केवल नीतिगत बहस गर्ने कि नेतृत्व नै परिवर्तन गर्ने भन्ने विषयले पार्टीभित्र गहिरो विभाजन निम्त्याएको छ। महाधिवेशनबाट नेतृत्व फेरबदल हुनसक्ने सम्भावनासमेत देखिन थालेको छ।
विशेष महाधिवेशन आयोजक समितिले ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरेको छ। तर, संस्थापन पक्षले ‘विशेष महाधिवेशनको औचित्य सकिएको’ भन्दै प्रतिनिधिलाई सहभागी हुन नदिन दबाब दिइरहेको छ।
काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने विशेष महाधिवेशनले नेतृत्वसमेत परिवर्तन गर्ने निर्णय लिन सक्ने बताइएको छ। यद्यपि, केही नेताहरूले नीतिमा मात्रै छलफल गरी पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने अडान लिएका छन्।
कांग्रेस केन्द्रीय सदस्य तथा विशेष महाधिवेशन पक्षका नेता अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनको माग गर्दा सुरुमा ५४.५८ प्रतिशत प्रतिनिधिको हस्ताक्षर रहेकामा अहिले त्यो संख्या ६० प्रतिशतभन्दा बढी पुगेको दाबी गरे। शनिबार भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको जानकारी दिए।
उनका अनुसार २ हजार ४ सय ८८ प्रतिनिधिको हस्ताक्षरबाट सुरु भएको अभियानमा थप प्रतिनिधि शनिबार र आइतबार बिहानसम्म काठमाडौं आइपुग्नेछन्। पार्टी विधान र व्यवस्था अनुसार नै विशेष महाधिवेशन हुन लागेको दाबी गर्दै शिवाकोटीले यसले कांग्रेसलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। पार्टी विभाजन हुने आशंका अस्वीकार गर्दै उनले विशेष महाधिवेशनले कांग्रेसलाई बलियो बनाउने दाबी गरे।
विशेष महाधिवेशनको उद्घाटनका लागि सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा निम्ता गरिएको छ। तर, देउवाको सचिवालयले निम्ता दिन पुगेको टोलीलाई असन्तुष्टि जनाउँदै फर्काएको बताइन्छ। विशेष महाधिवेशन आइतबार दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ।
यसैबीच, सभापति देउवाले विशेष महाधिवेशन स्थगित गर्न छलफल थालेका छन्। शनिबार महामन्त्रीद्वय थापा र शर्मासहितका नेतामाथि विशेष महाधिवेशन रोक्न दबाब दिइएको थियो। तर, थापा–शर्मा समूहले कुनै पनि हालतमा महाधिवेशन नरोकिने स्पष्ट सन्देश दिएको छ।
संस्थापन पक्षका सभापति देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरूले प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी नहुन दबाब दिँदै आएका छन्। विपरीत, महामन्त्रीद्वय थापा–शर्मासहित संस्थापनइतर समूहले जसरी पनि विशेष महाधिवेशन सम्पन्न गर्ने अडान लिएको छ।
कांग्रेसभित्र भावी सभापतिको रूपमा हेरिएका डा. शेखर कोइराला भने विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। उनको समूहले यस विषयमा संस्थापन पक्षलाई समर्थन गरेको छ। यसअघि एउटै समूहमा देखिएका कोइराला, थापा र शर्मा विशेष महाधिवेशनसँगै फरक–फरक धारमा उभिन पुगेका छन्।
जेनजी आन्दोलनपछिका घटनाक्रमसँगै संस्थापनइतर नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका छन्। थापा–शर्मा समूह निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छ। तर, संस्थापन पक्षले क्रियाशील सदस्यता टुंगो नलागेको र निर्वाचनको कारण देखाउँदै नियमित महाधिवेशन स्थगित गरेको छ।
गत १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन २६–२८ पुसमा गर्ने निर्णय गरेको थियो। तर, पछि कांग्रेसले २८–३१ वैशाख २०८३ मा नियमित महाधिवेशन गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरेपछि थापा–शर्मा समूहले त्यसलाई अस्वीकार गर्दै विशेष महाधिवेशनको बाटो रोजेको हो।
यही कारण कांग्रेस दुई धारमा विभाजित हुँदै पार्टी नै विभाजनतर्फ जान सक्ने आशंका बढेको छ। शनिबार महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीच भएको निर्णायक छलफल पनि निष्कर्षविहीन टुंगिएको छ। विशेष महाधिवेशन रोक्न शनिबार रातभर भएको प्रयास सफल हुन सकेन।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक रूपमा उपयुक्त नरहेको दाबी गरे। शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधित कार्यतालिकाअनुसार वैशाख अन्त्यमा हुने १५औं महाधिवेशन सबैले स्वीकार्नुपर्ने बताए। विशेष महाधिवेशन रोक्दै पार्टीलाई एकताबद्ध बनाएर आसन्न प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
तर, महामन्त्री गगन थापाले विशेष महाधिवेशन कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्। शनिबार सार्वजनिक भिडिओ सन्देशमार्फत उनले विशेष महाधिवेशनपछि जेनजीसँग सहकार्य गर्दै राष्ट्रियस्तरको संवाद गर्ने इच्छा व्यक्त गरे। निर्वाचनअघि नै जेनजी आन्दोलनले उठाएका मुद्दामा छलफल गरी समाधान खोज्ने प्रयास गरिने उनको भनाइ छ।
विशेष महाधिवेशनको पूर्वसन्ध्यामा सहमति प्रयास असफल भएपछि नेपाली कांग्रेस गम्भीर विभाजनको सँघारमा उभिएको विश्लेषण भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार