झापा । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लामा भएको ग्यास सिलिण्डर विस्फोटमा ९ जना नेपालीको ज्यान गएको छ। विस्फोटपछि लागेको आगलागीका कारण उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
ज्यान गुमाउने सबै नेपाली सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२, जोल्लाका बासिन्दा रहेको बताइएको छ। घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरू १६ वर्षीया राधा विक र १० वर्षीया रेणुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र ७ वर्षीय छोरा किरण विकको मृत्यु भएको हो।
भारतीय मिडियाका अनुसार उनीहरू बस्दै आएको आवासमा ग्यास सिलिण्डर अचानक विस्फोट हुँदा आगलागी फैलिएको थियो। आगो तीव्र रूपमा फैलिएकाले उद्धारमा कठिनाइ भएको बताइएको छ। घटनास्थलमा पुगेको स्थानीय प्रहरी र दमकल टोलीले आगो नियन्त्रणमा लिएको थियो।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। यसैबीच, मृतक नेपालीहरूको शव पोस्टमार्टमपछि प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भइरहेको बताइएको छ। नेपाली दूतावास र सम्बन्धित निकायले घटनाबारे समन्वय गरिरहेको जनाइएको छ।


















