हल्दीबारी । हल्दीबारी गाउँपालिकाको आयोजनामा हल्दीबारी–१ स्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा यही पौष २८ गतेदेखि सुरु भएको अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता मङ्गलबार दोस्रो दिनसम्म आइपुग्दा जनजागृति मावि पदक तालिकाको अग्रस्थानमा रहेको छ।
दोस्रो दिनको खेल सम्पन्न हुँदा जनजागृति माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ५ कास्य पदक सहित प्रथम स्थानमा आफ्नो पकड जमाएको छ। त्यसैगरी लक्ष्मी माध्यमिक विद्यालय ६ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित दोस्रो स्थानमा रहेको छ भने हल्दीबारी माध्यमिक विद्यालय ५ स्वर्ण, ६ रजत र ८ कास्य पदकसहित तेस्रो स्थानमा रहेको पदक तालिकाले देखाएको छ।
त्यसैगरी गोल्धाप सन साइन्सले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्न सफल भएको छ। चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माविले ३ स्वर्ण, ५ रजत र २ कास्य, सिग्मा अङ्ग्रेजी माविले ३ स्वर्ण, २ रजत र ३ कास्य, केनरी एकेडेमीले १ स्वर्ण र ७ कास्य पदक जितेका छन्।
जसोदा अङ्ग्रेजी माविले १ रजत र ३ कास्य, कृष्णसागर अङ्ग्रेजी माविले २ रजत र ३ कास्य, चिल्ड्रेन गार्डेन एकेडेमीले १ स्वर्ण र १ कास्य तथा पञ्चायत माध्यमिक विद्यालयले १ कास्य पदक , समस्कारा शिक्षा सदले १ काश्य पदक प्राप्त गरेका छन्।
दोस्रो दिनसम्मको खेल सकिँदा महेन्द्र माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयले भने कुनै पनि पदक खाता खोल्न सकेका छैनन्।
हालसम्म विभिन्न प्रतिस्पर्धामार्फत ३० स्वर्ण, २९ रजत र ४० कास्य पदक वितरण भइसकेका छन्।
भोलि छात्र–छात्राको कबडी फाइनल, भलिबल फाइनल तथा बिहान ७ बजे ३००० मिटर दौडको फाइनल लगायतका बाकी खेलसँगै राष्ट्रपति रनिङशील प्रतियोगिता सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र विद्यालयलाई मेडल ट्रफी प्रदान गरी सम्मान गरिनेछ। राष्ट्रपति रनिङशील प्रतियोगिता आयोग समितिका संयोजक तथा हल्दीबारी–४ का वडाध्यक्ष सन्त कुमार थापाका अनुसार उत्कृष्ट खेलाडी छनोट गरी जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताका लागि प्रशिक्षण तथा बन्द शिविरको आयोजना गरिनेछ।
जनजागृति माध्यमिक विद्यालयको आतिथ्यतामा पौष २८, २९ र ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा हल्दीबारी गाउँपालिका भित्रका सामुदायिक तथा निजी गरी १४ विद्यालयका करिब १२०० खेलाडी सहभागी छन्।
प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ५४ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ। खेल सञ्चालनका लागि गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
उद्घाटन समारोहमा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले शिक्षासँगै खेलकुदमा समेत गाउँपालिकाले उल्लेखनीय लगानी गर्दै आएको बताउँदै आगामी जिल्ला स्तरीय प्रतियोगितामा यहाँका खेलाडीले प्रथम स्थान हासिल गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो।

















