झापा । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर नजिकै आज साँझ ७ः५० बजे बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ निवासी ३२ वर्षीय खगेन्द्र मगर र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २५ वर्षीय सुकमाया तामाङ गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा मगरको उपचारका क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि मोटरसाइकलमा आफैं आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
प्रहरीले ट्रक र जलेको मोटरसाइकल नियन्त्रणमा लिएको छ। ट्रक चालक भने घटनापछि फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















