समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

मोटरसाइकल दुर्घटनामा भद्रपुरका खरेलको मृत्यु

झापा । भद्रपुर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ।
आज साँझ करिब ६ः२० बजे भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा बनियानीबाट पृथ्वीनगरतर्फ जाँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल यात्री भद्रपुर–२ निवासी ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोषको अनुहारमा चोट लागेको छ। उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि ओमसाई पाथिभरा अस्पताल रेफर गरिएको छ। उपचारमा उनकी श्रीमती संलग्न रहेको जनाइएको छ। मोटरसाइकलको पछाडि सवार २१ वर्षीय मन्दिप दंगालको अवस्था भने सामान्य रहेको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)