इलाम । नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजनामा तथा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा तीनदिने पर्यटन पत्रकारिता तालिम शुक्रबारदेखि इलाममा सुरु भएको छ। इलाम नगरपालिका–५ स्थित नेपाल भिलेज होमस्टेमा तालिम सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले इलामको प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटन प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। जिम्मेवार, तथ्यपरक र सन्तुलित पर्यटन पत्रकारितामार्फत इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकिने उहाँको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासङ्घ इलाम शाखाका अध्यक्ष भीम चापागाईंले गर्नुभएको थियो। उहाँले पर्यटन क्षेत्रको विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै तालिमले सहभागी पत्रकारहरूलाई व्यवहारिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
तालिममा इलामसहित चार जिल्लाका ३० जना पत्रकार सहभागी छन्। तालिममा पर्यटन पत्रकारिताको अवधारणा, पर्यटन समाचार तथा फिचर लेखन, गन्तव्य प्रवर्द्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल पर्यटन पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइँदैछ।
तालिमका सहजीकरण पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा र केचना–कञ्चनजङ्गा पर्यटन विकास समितिका पूर्व अध्यक्ष केशवकुमार धौरालीले गराइरहनुभएको छ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइने नेपाल पत्रकार महासङ्घ इलाम शाखाले जनाएको छ। तालिमले सहभागी पत्रकारहरूलाई पर्यटनमैत्री, जिम्मेवार र प्रभावकारी समाचार तथा सामग्री उत्पादनमा सक्षम बनाउने अपेक्षा गरिएको छ।


















