समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

स्वर्गद्वारी शिवालयमा माघ २६ देखि श्रीमद्भविष्य महापुराण सप्ताह

झापा । हल्दिबारी गाउँपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिर परिसरमा माघ २६ गतेदेखि श्रीमद्भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिको आयोजनामा हुने महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ।
महायज्ञको शुभारम्भ माघ २६ गते सोमबार बिहान भव्य शोभा–कलश यात्रासहित गरिनेछ। सोही दिन महायज्ञको समुद्घाटन तथा पाठारम्भ हुने आयोजक समितिले जनाएको छ। सप्ताहभर दैनिक बिहान मण्डप पूजा, वेद–मन्त्रसहित पाठपारायण, कथा प्रवचन, भजन–कीर्तन तथा साँझ महाआरती कार्यक्रम सञ्चालन हुनेछन्।
कार्यक्रमअनुसार फागुन ३ गते साँझ लक्षवर्ती दीप प्रज्वलन (जागराम) गरिनेछ भने फागुन ४ गते पूर्णाहुति, तिलाञ्जली, प्रसाद वितरण तथा सम्मान कार्यक्रमसहित महायज्ञ समापन गरिनेछ।
महायज्ञका प्रमुख कथावाचक व्यासाचार्य पं. ओमकारानन्दको मुखारविन्दबाट श्रीमद्भविष्य महापुराणको कथा प्रवचन हुनेछ। उपवाचकका रूपमा आ. पं. रोहित ढुङ्गाना रहनेछन्। कथा प्रवचनसँगै संगीतमय भजन–कीर्तन तथा आध्यात्मिक कार्यक्रमले सप्ताहभर वातावरण भक्तिमय बनाइने मन्दिर समितिका सचिव अभिषेक खतिवडाले जानकारी दिए।
मन्दिर परिसरमा निर्माणाधीन संरचनाको पूर्णता तथा धार्मिक गतिविधि विस्तार गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको समितिको भनाइ छ। कार्यक्रममा धार्मिक, सामाजिक, राजनीतिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवारलाई समेत पालैपालो विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
आयोजकले सम्पूर्ण भक्तजनलाई परिवारसहित उपस्थित भई कथा श्रवण, दर्शन तथा पुण्य लाभ लिन आग्रह गरेका छन्। पछिल्लो समय मन्दिर क्षेत्रलाई संयुक्त धार्मिकस्थलका रूपमा विकास गर्ने कार्य अघि बढाइएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)