निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दल र उम्मेदवारहरूलाई भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग गरी प्रचारप्रसार नगर्न निर्देशन दिएको छ। कतिपय दल तथा उम्मेदवारले प्रचारका क्रममा धातु, काठ वा अन्य यस्तै प्रकृतिका सामग्रीबाट बनेका चुनाव चिह्न साथमै बोकेर हिँड्दा जनसमुदायको सुरक्षामा प्रतिकूल असर परेको र सुरक्षा जोखिम बढेको गुनासो प्राप्त भएपछि आयोगले यस्तो निर्णय लिएको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन निर्देशिका २०८२ को व्यवस्था अनुसार उम्मेदवारहरूले कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका सामग्रीमार्फत मात्र आफ्नो निर्वाचन चिह्नको प्रचार गर्न पाउनेछन्। आयोगका अनुसार कानुनले तोकेको अनुसूची बमोजिमका चिह्नहरू मात्र प्रयोग गर्नुपर्ने र त्यसको भौतिक स्वरूप निर्माण गरी प्रदर्शन गर्नु निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को खण्ड (ड) विपरीत हुने स्पष्ट पारिएको छ।
आयोगले सरोकारवाला सबैलाई जानकारी गराउँदै तोकिएको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र प्रचारप्रसार गर्न आग्रह गरेको छ। यदि कसैले सुरक्षामा आँच आउने गरी काठ वा धातुका चिह्नहरू प्रयोग गरेको पाइएमा त्यसलाई आचारसंहिता उल्लंघनको रूपमा लिई कानुनी कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ। आम जनमानसको सुरक्षा र निर्वाचनको गरिमालाई मध्यनजर गर्दै मर्यादित रूपमा प्रचार अभियान चलाउन आयोगले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई विशेष अनुरोध गरेको छ।


















