झापा । इरानले गरेको ड्रोन आक्रमणका क्रममा आबुधाबीमा एक नेपाली युवाको ज्यान गएको पुष्टि भएको छ। संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासका अनुसार गोरखाको भीमसेनथापा गाउँपालिका–७ का २९ वर्षीय दिवस श्रेष्ठ (राई)को जायद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा मृत्यु भएको हो।
दूतावासले जनाएअनुसार श्रेष्ठ विमानस्थलको सुरक्षा गार्डका रूपमा कार्यरत थिए। आक्रमणका क्रममा लक्षित ड्रोन निष्क्रिय पार्ने प्रयास गर्दै गर्दा उनी घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ।
उक्त घटनामा एक बंगलादेशी र एक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको जनाइएको छ। घटनाबारे संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको दूतावासले जनाएको छ। घटनाको प्रकृति र विस्तृत विवरण सम्बन्धित निकायले सार्वजनिक गर्ने बताइएको छ।
दूतावासले शोक वक्तव्य जारी गर्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। परिस्थिति सहज भएपछि पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय गरिने दूतावासले जनाएको छ।
यसैबीच, दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न र स्थानीय सरकारले जारी गरेका सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार