हल्दिबारी । मिलिजुली अपाङ्गता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हल्दीबारीको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । तदर्थ समितिका अध्यक्ष भिम कुमार लावतीको अध्यक्षतामा भएको साधारण सभाले दिल कुमार राजवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
शनिबार सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिका रूपमा वडा अध्यक्ष शुकलाल राजवंशी उपस्थित थिए । कार्यक्रममा गाउँपालिकाकी सहकारी प्रमुख कविता कर्ण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगर, एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरि कृष्ण अधिकारी र झापा गाउँपालिकाका सिविआर एफओ प्रकाश गणेश लगायतको आतिथ्यता थियो ।
साधारण सभाको बन्द सत्रले आगामी कार्यकालका लागि उपाध्यक्षमा निर्मला अधिकारी खनाल, सचिवमा हरिमाया मिश्र र कोषाध्यक्षमा राम प्रसाद टुडुलाई चयन गरेको छ । यस्तै, सदस्यहरूमा ख्याम कुमार थामी, सुमित्रा गिरी, कविता निरौला, लेख बहादुर योङ्हाङ्ग र सुरेश भण्डारी निर्वाचित भएका छन् ।
यसअघि उद्घाटन सत्रमा सहकारीकी उपाध्यक्ष निर्मला अधिकारी खनालले स्वागत मन्तव्य राखेकी थिइन् भने निवर्तमान अध्यक्ष भिम कुमार लावतीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सचिव सलिना भट्टराईले गरेकी थिइन् भने व्यवस्थापनको जिम्मेवारी सिविआरएफका शिबु मुर्मु र बलराम बनले सम्हालेका थिए ।
साधारण सभामा हल्दीबारी गाउँपालिकाका पाँचवटै वडाका मिलिजुली समूहका पदाधिकारीहरूको उल्लेख्य सहभागिता थियो । सभामा सहकारीको आगामी कार्यदिशा, संस्थागत विकास तथा विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक र सामाजिक सशक्तीकरणमा सहकारीले खेल्ने भूमिकाबारे गहन छलफल भएको नवनिर्वाचित समितिले जनाएको छ ।

















