रैथाने वन्यजन्तु जोगाउन पाथिभरा कालिकामा ‘दुई तह’को घाँसे मैदान अभ्यास
हल्दिबारी संवाददाताशनिबार, जेठ ३०, २०८३
हात्तीलाई आउटेंगा तथा मृग र चित्तललाई भुईं घाँसको प्रबन्ध गरिँदै
हल्दीबारी, झापा — मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र रैथाने जनावरको आहार व्यवस्थापनका लागि झापाको पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले नौलो अभ्यास सुरु गरेको छ । वनको कोर एरिया अर्थात् मुख्य रैथाने क्षेत्र भित्र रहेको ४ हेक्टर (करिब ६ बिगाहा) जमिनमा ‘दुई तहको घाँसे मैदान व्यवस्थापन कार्यक्रम’ अघि बढाइएको हो । वन क्षेत्रभित्र पर्याप्त आहार नहुँदा विशेष गरी जंगली हात्तीहरू आहाराको खोजीमा बस्ती पस्ने र जनधनको क्षति गर्ने क्रम बढेपछि वन समूहले आफ्नै आन्तरिक क्षेत्रमा यो दीर्घकालीन योजना अघि सारेको हो ।
यो विशेष कार्यक्रम अन्तर्गत वन्यजन्तुको प्रकृति र तिनको आहारको आवश्यकतालाई हेरेर घाँसे मैदानलाई दुई तहमा वर्गीकरण गरी व्यवस्थापन गर्न लागिएको छ । पहिलो तथा माथिल्लो तह मुख्य गरी जंगली हात्तीलाई लक्षित गरेर तयार पारिँदैछ, जसका लागि हात्तीको मनपर्ने आहारा मानिने आउटेंगाका करिब ६ हजार ५ सय बिरुवा वृक्षरोपण गर्ने योजना छ । यी रुखहरू हुर्किएपछि हात्ती वनभित्रै झुम्मिने र बस्तीतर्फ जाने क्रम घट्ने विश्वास गरिएको छ ।
त्यसैगरी दोस्रो तथा तल्लो तह साना र शाकाहारी वन्यजन्तुका लागि केन्द्रित गरिएको छ । जमिनको सतहमा मृग, हरिण, चित्तल र खरायो जस्ता वन्यजन्तुका लागि पोषिलो भुईं घाँस पुनर्उत्पादन गरिनेछ, जसका लागि मिचाहा प्रजातिका झारहरूलाई हटाएर रैथाने घाँसका प्रजातिहरूलाई ब्युँताइनेछ ।
“वन्यजन्तुलाई वनभित्रै रोक्ने हो भने उनीहरूको वासस्थान र आहार सुरक्षित हुनैपर्छ । यो ४ हेक्टरको क्षेत्रफल सानो देखिए पनि यसले वनको पर्यावरण र वन्यजन्तुको चक्रलाई ठूलो सघाउ पुर्याउनेछ ।”
– सागर पुर्तेल, अध्यक्ष, पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूह
झापाका विभिन्न सामुदायिक वनहरूमा विगत लामो समयदेखि हात्ती र मानवबीचको द्वन्द्व मुख्य चुनौती रहँदै आएको छ । वनभित्रै जैविक विविधताको संरक्षण गर्दै घाँसे मैदान र फलफूलका बिरुवा रोप्ने यो अभियानले वन्यजन्तुलाई बस्ती छिर्नबाट रोक्न जैविक बारको समेत काम गर्ने विज्ञहरू बताउँछन् । पाथिभरा कालिका वनको यो प्रयास सफल भएमा यसले पर्या-पर्यटनको प्रवर्द्धन र वन्यजन्तु संरक्षणमा नयाँ आयाम थप्ने अपेक्षा वन समूहका अध्यक्ष पुर्तेलले व्यक्त गर्नुभयो ।