झापाको कनकाई नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा बिहान भएको सवारी दुर्घटनामा परि एक वृद्धको मृत्यु भएको छ। साउन १८ गते बिहान करिब ६:३० बजे कनकाई नगरपालिका वडा नम्बर ४ कोटिहोम नजिकै दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५१०४ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

गाडीको ठक्करबाट सोही स्थानका करिब ७०-७५ वर्षीय प्रल्हाद शिवाकोटी गम्भीर घाइते भएका थिए। दुर्घटना लगत्तै उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा पुगेका थिए। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक रवि राईको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइते शिवाकोटीलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।

अस्पताल पुर्याउनासाथ बिहान ७:५० बजे चिकित्सकले चेकजाँचका क्रममा शिवाकोटीलाई मृत घोषणा गरेका थिए। अहिले उनको शवलाई प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनापछि नियन्त्रण गुमाएर सडक छेउको बालुवामा भासिएको पिकअप गाडीलाई जेसीबीको प्रयोग गरी निकालिएको छ। उक्त गाडी इलामको सूर्योदय नगरपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षीय सवारी धनी अरुण शर्मा आफैँले चलाएर ल्याइरहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।