हल्दिबारी (झापा) — झापाको हल्दिबारीमा समाजमा बढ्दै गएको हिंसा, जघन्य अपराध र अमानवीय घटनाविरुद्ध सामूहिक खबरदारी गर्दै चिल्ड्रेन गार्डेन पूर्वविद्यार्थी समाजले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। “हिंसाको अँध्यारोविरुद्ध मानवताको दीप बालौँ” भन्ने मूल नाराका साथ हल्दिबारी–३ स्थित पूर्वविद्यार्थी समाजको आयोजनामा आइतबार हल्दिबारी–४ स्थित वडाबारी चोकको वडा कार्यालय प्राङ्गणमा सो कार्यक्रम आयोजना गरिएको हो। देशका विभिन्न भागमा घटिरहेका अमानवीय घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पीडितको न्याय, शान्ति, सम्मान र सुरक्षित समाजको कामनाका लागि नागरिक आवाज बुलन्द गर्न दीप प्रज्वलन गरिएको समाजले जनाएको छ।
हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन गरी सुरुआत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मैनालीले जघन्य अपराधमा संलग्न व्यक्ति जोसुकै भए पनि कानुनको कठघरामा उभ्याउनुपर्ने बताइन्। दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिलाउन राज्यका निकायहरू गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले यस्ता नागरिक अभियानले समाजमा चेतना र जिम्मेवारीबोध बढाउने धारणा व्यक्त गरिन्।
कार्यक्रमका अध्यक्ष तथा चिल्ड्रेन गार्डेन पूर्वविद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाले अपराधलाई ढाकछोप गर्ने वा मौन बस्ने प्रवृत्तिविरुद्ध सबै नागरिक एकजुट हुनुपर्ने बताए। पाथीभरा, साकेला थान, दूधकन्या र स्वर्गद्वारीजस्ता पवित्र स्थलहरूको भूमि हल्दिबारीबाट बालिएको दीपले देशका ७७ वटै जिल्लामा शान्ति, सुरक्षा र न्यायको प्रतीकात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो।
कार्यक्रममा चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मनोज सुवेदी, आधारभूत स्वास्थ्य चौकीका प्रमुख मिलन उप्रेती, जलथल प्रहरी चौकीका प्रमुख छबिहाङ शेर्मा लगायत स्थानीय अगुवा, बालबालिका तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समाजका सचिव टिकाराम ढकालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा दीप बाल्दै देशमा शान्ति कायम होस् र पीडितले न्याय पाऊन् भन्ने कामना गरेका थिए। विद्यालयसँगको सम्बन्धलाई सामाजिक उत्तरदायित्वमा जोड्दै अघि बढेको पूर्वविद्यार्थी समाजले आगामी दिनमा पनि यस्ता चेतनामूलक र समुदायमुखी अभियान निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गरेको छ।
