समाचार
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

जनैको महत्त्व तथा जनैमा आत्मनिर्भर बनौँ

नेपालमा बहुसंख्यक नागरिकहरूले जनै धारण गर्दछन्। जनैको आफ्नै मौलिक महत्त्व तथा विशेषता छ। कपासलाई काँचो धागोमा परिणत गरी सोही धागोबाट जनै निर्माण गरिन्छ। धार्मिक तथा वैज्ञानिक महत्त्वका दृष्टिले हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ। यही विशेषता बोकेको सूत्र (धागो) मार्फत निर्माण गरिने जनैको विशेष महत्त्व रहेको छ। समाजका सबै तह र तप्कामा रहेका सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था तथा विश्वास राख्ने अनुयायीहरूलाई एउटै सूत्रमा बाँध्ने पवित्र धागो नै ‘जनै’ वा ‘यज्ञोपवीत’ हो।

Advertisement

​जनैको महानताका सम्बन्धमा हाम्रा प्राच्य विद्या (पूर्वीय दर्शन) ले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषयमा जानकारी हुन आवश्यक छ।

Advertisement

​• जनै / यज्ञोपवीतको परिभाषा:

यज्ञो वै विष्णुः।

यज्ञाख्यः परमात्मा य उच्यते चैव होतृभिः।

उपवीतं ततोऽस्येदं तस्माद् यज्ञोपवीतकम्।।

यज्ञ = यज्ञद्वारा संस्कार गरिएको, पवित्र पारिएको।

उपवीत = पहिरिने विशेष सूत्र वा धागो (जनै), जुन भगवान् विष्णुको प्रतीक हो। अग्निका उपासक होतृहरूले यज्ञपुरुषका रूपमा भगवान् विष्णुलाई मानेका छन् भने त्यही यज्ञबाट संस्कार गरिएको उपवीत/सूत्रलाई ‘यज्ञोपवीत’ वा ‘जनै’ भनिएको हो।

सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात्।

तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम्।।

​ब्रह्मज्ञान र वेद प्रतिपादित विषयको द्योतक/सूचक जुन सूत्र छ, त्यो नै ‘ब्रह्मसूत्र’ वा जनै हो।

​चार वेद र गायत्री मन्त्रका चौबीस अक्षरलाई गुणा गर्दा आउने ९६ सङ्ख्याको समूह एवं तिथि, वार, नक्षत्र, तत्त्व, वेद, गुण, काल र मासको पूर्ण सङ्ख्या ९६ फन्कालाई ब्रह्मसूत्रको आधार मानिएको छ:

तिथिर्वारश्च नक्षत्रं तत्ववेदगुणान्वितम्।

कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम्।।

  • तिथि – १५
  • वार – ७
  • नक्षत्र – २७
  • तत्त्व – २५
  • वेद – ४
  • गुण – ३
  • काल – ३
  • मास – १२

जम्मा = ९६

​हातका चार औँलाको मूल भागमा दुई डोराले ९६ फन्का बेर्दा माथि उल्लेखित छ्यानब्बे नाम उच्चारणका साथ आधान गर्नुपर्दछ। उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नुपर्छ। यसरी बाटिएको धागोलाई तेब्बर पारेर बाट्दा ९ डोराको हुन पुग्छ। यी ९ डोरामा ‘ॐकार’ आदि गरिएका नौ वटा देवताहरूको आवाहनपूर्वक पञ्च शिखामा ब्रह्मा आदि देवताहरूलाई न्यास गरिन्छ।

​जनैको लम्बाइ देब्रे काँध (वामस्कन्ध) देखि नाइटो (नाभि) हुँदै कम्मरसम्मको हुनुपर्दछ। लामोमा कम्मरभन्दा तल र छोटोमा नाइटोभन्दा माथि हुनु हुँदैन।

​प्रातःकालीन समयमा यी प्रक्रियाहरूलाई आत्मसात् गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन्छ। सबै शक्तिहरूले वास गर्ने परम पवित्र यज्ञोपवीत आफैँमा सिद्ध छ।

​देवताहरूले समेत धारण गर्ने सर्वशक्तिमान् जनै र रक्षासूत्रको अभिमन्त्रण जनैपूर्णिमाका दिन अरुन्धतीसहित कश्यप आदि सप्तर्षिहरूको पूजा, रुद्राभिषेक, ऋषितर्पणी/ऋषि श्राद्धका साथै देवता, गुरु र पितृहरूलाई यज्ञोपवीत अर्पण गरी गरिन्छ।

“स्वाध्यायोऽध्येतव्यः” अर्थात् वर्षभरि स्वाध्याय गरिएका वेदादि मन्त्रहरूको पुनरावृत्ति गर्दै अध्यायोपाकर्म गरिन्छ। माथि बताइएका देवताहरूको पूजा गर्दै विभिन्न अनुष्ठान पूरा गरिन्छ। यसरी विधिपूर्वक बनाउनुका साथै मन्त्रिएको जनै लगाउनका लागि तयार हुन्छ।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।

आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।

(अर्थ): प्रजापतिद्वारा निर्मित एवं यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवीत/जनै म धारण गर्दछु। यसबाट मलाई आयु, विद्या, मेधा, यश र बल जस्ता सामर्थ्य प्राप्त हुन्।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।

तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल।।

(अर्थ): भगवान् वामनले सत्यताका लागि वाणीरुपी सूत्र/बन्धनद्वारा दानवका महाबलशाली राजा बलिलाई जसरी बाँध्नुभएको थियो, त्यसै गरी यो रक्षासूत्रद्वारा तिमीलाई पनि बाँध्छु; यस रक्षासूत्रले सदा-सर्वदा तिम्रो रक्षा गरोस्।

​शास्त्रमा भनिएको छ— श्रावण महिनामा जडीबुटी चरन गरेका गाईको गोबर शरीरमा लेपन गर्नाले विभिन्न रोगको निवारण हुन्छ। यज्ञीय समिधाको भष्म र शुद्ध माटो लेपन गर्नाले पञ्चतत्त्वबाट प्राप्त हुने आवश्यक ऊर्जा शरीरले ग्रहण गर्छ। आयुर्वेद अनुसार महौषधिका रूपमा रहेका कुश, दुबो र अपामार्ग (दतिवन) को प्रयोगले आरोग्यता प्राप्त गर्न सकिन्छ।

​यी हाम्रा सर्वजन हिताय र सर्वजन सुखायका रूपमा रहेका मौलिक चाडपर्वहरू केवल पूजाआजामा मात्र सीमित नभई हाम्रा अमूल्य सांस्कृतिक संरक्षण र संवर्द्धनका साथै उद्यमशीलतासँग पनि जोडिएका छन्। यस्ता विशिष्ट पक्षको पहिचान र प्रयोग हुनु मानव कल्याणका लागि उत्तम विषय हो।

​• जनै धारण गर्दा भन्ने मन्त्र:

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।

आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।

​• पुरानो जनै त्याग गर्दा भन्ने मन्त्र:

एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया।

जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम्।।

​• पुरानो जनै त्याग्ने अवस्था (निर्णय):

सूतके मृतके चैव गते मासचतुष्टये।

नवयज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत्।।

​यज्ञोपवीत (जनै) आर्य संस्कृतिको प्रतीक हो। यो विद्याको प्रतीक र यज्ञको वेषभूषा हो। प्राचीन समयमा शिक्षा ग्रहण गर्नुपूर्व यज्ञोपवीत धारण गरी मर्यादित शिक्षा ग्रहणको शुभारम्भ गर्ने चलन थियो (अर्थात् विद्यालय भर्ना हुन योग्य भएको सङ्केत)।

​मर्यादा पुरुषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रह्माजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रुक्मिणी, माता सरस्वती, देवी कुन्ती, सतीसाध्वी द्रौपदी तथा लङ्कापति रावण आदि हामीले मान्ने भगवान् तथा पौराणिक नर-नारीहरूले जनै धारण गर्दथे। जब देवी-देवतादेखि लिएर तत्कालीन समाजका नर-नारीसम्मले जनै लगाउने प्रचलन थियो भने ‘स्त्रीले जनै धारण गर्नुहुँदैन’ भन्नु सरासर गलत हो।

​जनै ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ गरी तीन आश्रममा रहँदा मात्र धारण गरिन्छ। चौथो आश्रम अर्थात् सन्न्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ। भगवान् गौतम बुद्धले समेत सन्न्यास ग्रहण गर्नुपूर्व शिखा (टुप्पी) र जनै त्याग गरेको शास्त्रीय प्रमाणहरू छन्।

​जनैका तीन दण्ड (डोरा/सूत्र) ले मन, वचन र कर्मको एकताको शिक्षा दिन्छन्। जे मनमा छ, त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्छ। जब मन, वचन र कर्म एक हुन्छन्, तब मनुष्य महात्मा बन्दछ।

​• जनैका पवित्र तन्तुमा नौ देवताहरूको अवस्थिति:

ओङ्कारः प्रथमे तन्तौ द्वितीयेऽग्निस्तथैव च।

तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता।।

पञ्चमे पितृदैवत्यं षष्ठे चैव प्रजापतिः।

सप्तमे मरुतश्चैव अष्टमे सूर्य एव च।।

सर्वे देवास्तु नवमे इत्येतास्तन्तुदेवताः।।

​पहिलो सूत्रमा ॐकार, दोस्रोमा अग्नि, तेस्रोमा अनन्त (नाग), चौथोमा सोम (चन्द्रमा), पाँचौँमा पितृगण, छैटौँमा प्रजापति, सातौँमा मरुत् (वायु), आठौँमा सूर्य र नवौँ सूत्रमा सबै देवता प्रतिष्ठित हुन्छन्।

​जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थित नौ देवहरूसँग सम्बन्धित निम्नलिखित गुणहरूलाई आफूभित्र धारण गर्नुपर्दछ:

  • ॐकार – एकत्वको प्रकाश, ब्रह्मज्ञान।
  • अग्नि – तेज, प्रकाश, पापदहन।
  • अनन्त – अपार धैर्य र स्थिरता।
  • चन्द्रमा – मधुरता, शीतलता र सर्वप्रियता।
  • पितृगण – आशीर्वाद, दान र स्नेह।
  • प्रजापति – प्रजापालन, प्रेम र सौहार्द।
  • वायु – पवित्रता, बलशालिता र धारणशक्ति।
  • सूर्य – गुण ग्रहण, नियमितता, प्रकाश, अन्धकारनाश र मल शोषण।
  • सबै देवता – दिव्य र सात्त्विक जीवन।

​• जनै निर्माण र आत्मनिर्भरताका फाइदाहरू:

​यस्तो परम पवित्र जनै आज विदेशबाट आयात भइरहेको छ, जसका कारण अर्बौँ रकम बाहिरिएको छ। हामीसँग कपास छ, धागो छ; मात्र सीप, उद्यमी बन्ने सपना, श्रमको सम्मान गर्ने र जनैमा आत्मनिर्भर बन्ने/बनाउने सोचको कमी छ। जहाँ जनै लगाइँदैन वा न्यून मानिसले लगाउँछन्, त्यहाँ जनै बन्छ र जनै लगाउने देशमा यसको व्यापार हुन्छ।

​यसका लागि ठूलो आर्थिक लगानी, ठूला उद्योग वा ठूलो शारीरिक बल चाहिँदैन। घर-घरमा बसेर उद्यमी बन्न सकिन्छ, आयआर्जन गर्न सकिन्छ, कच्चापदार्थ आफ्नै देशमा उत्पादन गर्न सकिन्छ र विदेशिने अर्बौँ रकम आफ्नै देशमा रोक्न सकिन्छ। हजारौँ व्यक्तिहरू रोजगार बन्न सक्छन् र कपास खेती पनि फस्टाउँछ।

​अन्य मुलुकहरूमा समेत निर्यात गरी देशलाई दिगो आर्थिक उपार्जनतर्फ लैजान सकिन्छ। गाउँ-घर, शहर-बजारदेखि लिएर बन्दी जीवन बिताइरहेका महानुभावहरूलाई समेत यस गृहउद्योगमा जोड्न सकिन्छ। त्यसैले उद्यमी बनौँ, स्वाभिमानी बनौँ र आत्मनिर्भर बनौँ। सकारात्मक सोचले मात्र रचनात्मक काम गर्न सकिन्छ; त्यसैले जनैमा आत्मनिर्भर बनौँ र श्रमको सम्मान गरौँ।

इन्द्रप्रसाद ओली

अध्यक्ष / प्रमुख प्रशिक्षक

चेतना नेपाल

राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल

केन्द्रीय कार्यालय: भद्रपुर-७, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article