हल्दिबारी । हल्दिबारी माध्यमिक विद्यालय, हल्दिबारी–२ मा क्रियाशील जुनियर रेडक्रस सर्कलको नेतृत्वमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम कटाएर रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेका छन्।

कक्षा ५ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम बचत गरी रु. १३ हजार २५५ संकलन गरेका हुन्। विद्यार्थीहरूको यस अभियानमा विद्यालयका शिक्षकहरूले समेत सहजीकरण र प्रेरणा प्रदान गरेका थिए।

जुनियर रेडक्रस सर्कलको नेतृत्व तथा शिक्षक–विद्यार्थीको संयुक्त पहलमा संकलित उक्त रकम नेपाल रेडक्रस सोसाइटी, झापा शाखामार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नै खाजा खर्च कटाएर रकम संकलन गर्नुले उनीहरूमा विकसित हुँदै गएको मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको छ।
सानो उमेरमै विपद्का बेला पीडितको साथमा उभिने संस्कारको विकास गराउने उद्देश्यले गरिएको यो पहलले अन्य विद्यार्थी तथा समुदायलाई समेत सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास गरिएको छ।
विद्यालयले विद्यार्थीहरूको मानवीय भावना, सामाजिक उत्तरदायित्व र सहयोगी भावनाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
