हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

भद्रपुर काङ्ग्रेसको नगर सभापतिमा खड्गबहादुर लिम्बू

​झापा । नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर ३ स्थित भद्रपुर नगर समितिको सभापतिमा युवा नेता खड्गबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन्। नगर नेतृत्वका लागि अन्य कसैको दाबी नपरेपछि लिम्बू सर्वसम्मत रूपमा सभापति चयन भएका हुन्।

Advertisement

​भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलसहितका स्थानीय नेताहरूले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूह छाडेर महामन्त्री गगन थापा पक्षतिर ढल्किरहेका बेला लिम्बूले भने सिटौलाको साथ छाडेका छैनन्। राजनीतिक वृत्तमा सिटौलाका ‘धर्मपुत्र’ मानिने नगरप्रमुख पोख्रेलले गगन पक्षको आड लिएपछि भद्रपुरमा उनको राजनीतिक प्रभाव र उपस्थिति कमजोर बन्दै गएको चर्चा काङ्ग्रेस वृत्तमा सुरु भएको छ।

Advertisement

​यता, आन्तरिक समीकरण फेरबदलका बीच पनि सिटौला नेतृत्वको समूहप्रति निष्ठावान् रहँदै आएका लिम्बू भने नगर सभापतिको जिम्मेवारीमा आइपुगेका छन्। युवा पुस्तामाझ निकै लोकप्रिय मानिने लिम्बू झापा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष समेत हुन्। उद्योगी–व्यवसायी तथा स्थानीय युवामाझ बलियो पकड बनाएका लिम्बूको आगमनले भद्रपुरमा काङ्ग्रेस सङ्गठनलाई नयाँ ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।

​नवनिर्वाचित सभापति लिम्बूलाई पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। निर्वाचित भएपछि लिम्बूले भद्रपुरमा काङ्ग्रेसलाई थप सुदृढ, एकजुट र गतिशील बनाएर लैजाने प्रतिबद्धता जनाएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)