क्वालालम्पुर । प्रवासी नेपाली मञ्च (ओएनएफ) मलेसियाको आसन्न तेस्रो राष्ट्रिय अधिवेशनमा अध्यक्ष पदका लागि डिल्ली न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। अक्टोबर ११ मा आयोजना हुने अधिवेशनलाई लक्षित गर्दै उम्मेदवारी दर्ता गराएका न्यौपानेले वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका नेपाली श्रमिकको हकहित, कानुनी सुरक्षा र सांगठनिक सुदृढीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले श्रम शोषण, न्यून तथा अनियमित पारिश्रमिक, असुरक्षित कार्य वातावरण र सामाजिक सुरक्षाको अभावजस्ता विविध समस्या भोग्दै आएका छन्। यी समस्या समाधानका लागि सम्बन्धित रोजगारदाता कम्पनी, मलेसियास्थित नेपाली कूटनीतिक नियोग र स्थानीय सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने न्यौपानेको योजना छ।

आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै न्यौपानेले आपत्कालीन अवस्थामा परेका नेपालीलाई तत्काल उद्धार तथा राहत, निःशुल्क कानुनी परामर्श, र अधिकारसम्बन्धी सचेतना अभियानलाई तीव्रता दिने बताएका छन्। यसका साथै विदेशमा रहेका नेपालीको श्रमको सम्मान र सामाजिक सुरक्षा कोष (एसएसएफ) मा श्रमिकको पहुँच अभिवृद्धि गर्न संस्थागत संयन्त्र निर्माण गरिने उनको भनाइ छ।
संगठनलाई थप उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउँदै प्रवासी नेपालीका साझा समस्या समाधानमा सबैको सहभागिता सुनिश्चित गर्ने न्यौपानेले दाबी गरेका छन्। अक्टोबर ११ मा हुने अधिवेशनले चयन गर्ने नयाँ नेतृत्वले मलेसियामा रहेका लाखौँ नेपाली श्रमिकको हित रक्षा र संगठनको भावी दिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
