हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भौतिक क्षति भए पनि मानवीय क्षति भएन

झापा । मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे गएको भूकम्पका कारण राजधानी पानामा सिटीसहित देशका विभिन्न भागमा भवन, सडक तथा पुलहरूमा भौतिक क्षति पुगेको छ।

Advertisement

​अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब १४ किलोमिटर (९ माइल) दक्षिणपश्चिम र १० किलोमिटर गहिराइमा रहेको थियो। मुख्य कम्पनपछि दिउँसो ४ः२५ बजे ६.९ म्याग्निच्युडको ठूलो परकम्प गएको भूगर्भविद्हरूले जनाएका छन्।

Advertisement

​भूकम्पका कारण ठूलो क्षेत्रमा क्षति पुगे पनि अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय नगरका मेयर बाटिस्टाका अनुसार कुनै पनि ज्यान नगर्नु अहिलेको सबैभन्दा ठूलो राहतको विषय बनेको छ। पानामाको राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार कोक्ले, लस सान्तोस र पानामा प्रान्त भूकम्पबाट बढी प्रभावित भएका छन्।

​भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओको ‘एल सिटियो’ होटल पूर्ण रूपमा भत्किएको छ भने पेनोनोमे सहरमा ‘डोस कोन्टिनेन्टेस’ होटलको एक भाग भत्किएर पार्किङका गाडीहरूमा क्षति पुगेको छ। पेनोनोमेमा करिब एक दर्जन र अगुआदुल्सेमा आधा दर्जन भवनमा ठूलो क्षति पुगेको छ। कोक्ले प्रान्तका वरिष्ठ प्रहरी अधिकारी जर्ज सान्चेजका अनुसार गभर्नरको कार्यालय, क्याथेड्रल चर्चका संरचना, पानी प्रशोधन केन्द्र, केही पुल र सडकहरूमा क्षति पुग्नुका साथै विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ।

​करिब २० लाख जनसङ्ख्या रहेको पानामा सिटीमा गगनचुम्बी भवनहरू हल्लिएपछि मानिसहरू खुला सडकतिर भागेका थिए। अग्ला भवनका छतमा रहेका स्विमिङ पुलको पानी सडकमा खसेका दृश्यहरू सामाजिक सञ्जालमा देखिएका छन्। भूकम्पपछि टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलले सुरक्षा जाँचका लागि करिब दुई घण्टा उडान सेवा रोकेर पुनः सुचारु गरेको छ।

​विश्व समुद्री व्यापारका लागि महत्त्वपूर्ण पानामा नहर (Panama Canal) भने भूकम्पबाट सुरक्षित रहेको र यसको सञ्चालन नियमित रूपमा भइरहेको नहर प्राधिकरणले जनाएको छ। यस्तै पानामास्थित अमेरिकी दूतावासका कर्मचारीहरू पनि सुरक्षित रहेको बताइएको छ।

​यूएसजीएसकी भूकम्पविद् सुसान हफका अनुसार यो भूकम्प केवल १० किलोमिटरको कम गहिराइमा तेर्सो चाल (Strike-slip faulting) का कारण गएकाले भू-सतहसम्म तीव्र कम्पन महसुस भएको हो। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)