कोलकाता, २८ असोज । पश्चिम बङ्गालमा औद्योगिक लगानीलाई प्रवर्द्धन गर्ने दिशामा राज्य सरकारले अर्को ठूलो घोषणा गरेको छ। दुर्गा पूजापछि राज्यमा ‘क्याम्पा कोला’को नयाँ कारखाना स्थापना हुने भएको छ।
रिलायन्स समूहले नदिया जिल्लाको कल्याणीस्थित हरिणघाटामा उक्त कारखाना स्थापना गर्न लागेको हो। यस कारखानाको शिलान्यास आगामी २८ अक्टोबरका दिन गरिनेछ।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार चतुर्थीको अवसरमा हल्दियाबाट सो घोषणा गरेका हुन्। उनले हल्दियामा पनि थप दुई वटा ठूला कारखाना स्थापना गरिने जानकारी दिए। जसअनुसार ९८ एकड जमिनमा ‘पेप्सी प्लान्ट’ र अर्को ५० एकड जमिनमा चिकित्सा सम्बन्धी उपकरणहरू (मेडिकल इक्विपमेन्ट) निर्माण गरिनेछ।
औद्योगिक गौरव फिर्ता ल्याउने प्रयास
राज्यमा विगतको सत्ता परिवर्तन पछाडि औद्योगिक विकासको अभाव हुनु एक प्रमुख कारण रहेको थियो। भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो चुनावी प्रतिबद्धतामा बङ्गालको गुमेको औद्योगिक गौरव फिर्ता ल्याउने आश्वासन दिएको थियो। मुख्यमन्त्री अधिकारीले राज्य सरकार यही लक्ष्यलाई केन्द्रमा राखेर तीव्र गतिमा काम गरिरहेको बताएका छन्।
यसअघि लक्स कोजीको नयाँ कारखाना र अमूलको कारखाना स्थापना गर्ने प्रक्रिया सुरु भइसकेको छ। साथै, पूर्व मेदिनीपुर जिल्लाको दादनपात्रबाडमा एउटा गहिरो समुद्री बन्दरगाह (डीप सी पोर्ट) निर्माण गर्ने योजना रहेको छ।
राज्यमा ठूलो लगानी भित्र्याउने उद्देश्यले मुख्यमन्त्री अधिकारीले मुकेश अम्बानी र गौतम अडानी जस्ता देशका दिग्गज उद्योगपतिहरूसँग बैठक गरिसकेका छन्। हाल अडानी समूहले न्यूटाउनमा अस्पताल निर्माण गरिरहेको छ भने अब हरिणघाटामा क्याम्पा कोला र हल्दियामा पेप्सीले लगानी बढाउने भएका छन्।
६ हजार करोडको फिनोल प्लान्टको उद्घाटन
बुधवार चतुर्थीको अवसर पारेर बङ्गालको औद्योगिक क्षेत्रमा अर्को ठूलो सफलता पनि जोडिएको छ। हल्दी नदीको तटमा ६ हजार करोड रुपियाँको लगानीमा निर्मित नयाँ फिनोल प्लान्टको उद्घाटन गरिएको छ।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार हल्दिया पुगेर सो प्लान्टको औपचारिक उद्घाटन गरे। फिनोल र एसिटोन उत्पादनका लागि हल्दिया पेट्रोकेमिकल्स लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी ‘एडपरर्मा प्राइभेट लिमिटेड’ले यो अत्याधुनिक प्लान्ट स्थापना गरेको हो।
