झापा, भदौ ३० । नजिकिँदै गरेका चाडपर्वका बेला बजार तथा वित्तीय क्षेत्रमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। चाडपर्वको समयमा सर्वसाधारणको आवतजावत र आर्थिक कारोबार उल्लेख्य रूपमा बढ्ने भएकाले शान्ति सुरक्षालाई भरपर्दो बनाउन र सेवा प्रवाहलाई सहज तथा सुरक्षित राख्न यस्तो व्यवस्था मिलाउन भनिएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा जारी सार्वजनिक सूचना अनुसार झापा जिल्लाभित्र रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान, सपिङ मल तथा व्यावसायिक कम्प्लेक्सहरूलाई ६ बुँदे निर्देशन दिइएको छ।
प्रशासनले बैंक, वित्तीय संस्था, एटीएम बुथ, व्यापारिक प्रतिष्ठान र सपिङ मलहरूमा खटिने सुरक्षा गार्डहरूलाई उच्च सतर्कतामा राख्न र चौबीसै घण्टा नियमित पालोपहरा (सिफ्ट ड्युटी) तथा प्रभावकारी निगरानीको व्यवस्था मिलाउन भनेको छ। त्यसैगरी, कार्यालय परिसर, भल्ट रुम, एटीएम बुथ, मुख्य प्रवेशद्वार, पार्किङ क्षेत्र तथा भीडभाड हुने स्थानमा जडान गरिएका सिसी क्यामेराहरू चौबीसै घण्टा रेकर्डिङ हुने गरी दुरुस्त अवस्थामा राख्न र कुनै प्राविधिक समस्या देखिएमा तत्काल मर्मतसम्भार गर्न निर्देशन दिइएको छ।

चाडपर्वका बिदाका समयमा सर्वसाधारणलाई नगद कारोबारमा कुनै असुविधा हुन नदिन बैंक तथा वित्तीय संस्थाहरूले एटीएम बुथहरूमा पर्याप्त नगद मौज्दात राख्न र मेशिनहरू चौबीसै घण्टा सुचारु राख्नुपर्नेछ।
परिसरमा कुनै शंकास्पद व्यक्ति, वस्तु वा गतिविधि देखिएमा तथा आकस्मिक सुरक्षा सहयोग आवश्यक परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा जिल्लास्थित सुरक्षा निकायहरूसँग निरन्तर समन्वयमा रहन आग्रह गरिएको छ। साथै, एटीएममा प्राविधिक समस्या आएमा वा आकस्मिक सुरक्षा समन्वय गर्नुपरेमा तत्काल सम्पर्क गर्न सकिने गरी जिम्मेवार व्यक्ति (Focal Person) तोकी निजको नाम र सम्पर्क नम्बर नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन भनिएको छ।
चाडपर्वका बेला सपिङ मल तथा ठूला व्यापारिक कम्प्लेक्सहरूमा हुन सक्ने भीडभाडलाई व्यवस्थित गर्न, पार्किङ र प्रवेशद्वारमा आवश्यक सुरक्षा जाँचको प्रबन्ध मिलाउनुका साथै आकस्मिक सुरक्षा सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ।
