हल्दिबारी, झापा । वर्तमान नेपाल सरकार गठन भएको छ महिनाको अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ। यस अवधिमा नीतिगत सुधार, विद्युत् प्रसारण पूर्वाधार विस्तार, जलविद्युत् आयोजनाको विकास, सिँचाइ सुविधामा वृद्धि तथा विपद् पूर्वसूचना प्रणाली सुदृढीकरणका कामहरू तीव्रताका साथ अघि बढाइएका छन्।
सिँचाइ क्षेत्रतर्फ राष्ट्रिय गौरवका तथा प्रमुख आयोजनाहरूबाट कृषि योग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने कार्यमा ठूलो विस्तार भएको छ। जसअन्तर्गत बबई सिँचाइ आयोजनामार्फत ६०० हेक्टर, सिक्टाबाट १३०० हेक्टर, बड्कापथबाट ६१० हेक्टर, रानी जमरा कुलरियाबाट १५० हेक्टर र महाकाली सिँचाइ आयोजनामार्फत ११५५ हेक्टर गरी थप जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइएको छ।
नेपाल र भारतबीच विद्युत् आदानप्रदान क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत हुने नेपाल–भारत संयुक्त विद्युत् प्रवाह क्षमता आयाततर्फ १००० मेगावाटबाट बढाएर १४०० मेगावाट तथा निर्याततर्फ ११०० मेगावाटबाट १६५० मेगावाट पुर्याउने सहमति बनेको छ।
अन्तरदेशीय प्रसारण लाइन पूर्वाधार विस्तारतर्फ नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको नेपाल खण्ड सन् २०२६ अगस्टसम्म सम्पन्न गर्ने र आवश्यक सबस्टेसन तयार नहुञ्जेल २२० केभीमा सञ्चालन गरी विद्युत् आयात–निर्यात गर्ने निर्णय भएको छ। यसैगरी, चमेलिया–धौलीगङ्गा २२० केभी प्रसारण लाइन सन् २०२८ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने सन् २०३४–३५ सम्म थप विद्युत् निर्यात विस्तार गर्न मोतिहारी–निजगढ ४०० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ।
मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनको क्षमता बढाउन कन्डक्टर परिवर्तन गर्ने योजना पनि स्वीकृत भएको छ। त्यसैगरी, इनरुवा–न्यु पूर्णिया र दोदोधरा (न्यु लम्की)–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसनबीच संयुक्त कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ।
देशभित्रै विद्युत् प्रसारण पूर्वाधार मजबुत बनाउने क्रममा मर्स्याङ्दी करिडोरअन्तर्गत मर्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ। काठमाडौँको चोभारस्थित १३२/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ भने बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण कार्य पूरा गरिएको छ। बाह्रबिसे र न्यु खिम्ती ४०० केभी सबस्टेसन निर्माण सम्पन्न गरी आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ। हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–ढल्केबर खण्डमा लामो समयदेखि अवरुद्ध रहेका १८ वटा टावरको निर्माण पुनः सुरु गरिएको छ।
मधेस प्रदेशमा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न चन्द्रपुर–सुखदेवचोक र लहान–सुखीपुर प्रसारण लाइन निर्माण अघि बढाइएको छ। साथै, मधेसका विभिन्न स्थानमा नयाँ वितरण लाइन, भूमिगत प्रसारण लाइन र ट्रान्सफर्मर जडान गरी विद्युत् सेवा विस्तार गरिएको छ। कर्णाली प्रदेशलाई पूर्ण विद्युतीकरण गर्न प्रसारण तथा वितरण लाइन विस्तारको कामलाई तीव्र पारिएको छ।
ऊर्जा क्षेत्रको सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा प्रसारण लाइन तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गर्न एसियाली विकास बैंक (ADB) सँग कारोबार परामर्श सेवासम्बन्धी सम्झौता गरिएको छ। साना तथा नवीकरणीय ऊर्जातर्फ लघु तथा साना जलविद्युत् आयोजनाबाट ६९३ किलोवाट र सौर्य मिनिग्रिडबाट ८४१ किलोवाट विद्युत् उत्पादन सुरु भएको छ।
विपद्का कारण क्षति पुगेका १८ वटा लघु तथा साना जलविद्युत् आयोजनाको पुनर्निर्माण सम्पन्न गरिएको छ। स्वच्छ खाना पकाउने प्रविधिलाई प्रवर्द्धन गर्ने क्रममा घरायसी बायोग्यास प्लान्ट, विद्युतीय चुलो र सुधारिएको चुलो गरी कुल १ लाख १९ हजार ५०० वटा वैकल्पिक ऊर्जा प्रविधि जडान तथा वितरण गरिएको छ।
