समाचार
हल्दिबारी संवाददाता ७ घण्टा अगाडि

मधेसबाट देशभर फैलिएको छठ : आस्था, अर्थतन्त्र र सद्भावको साझा उत्सव

जनक राउत, राजगढ । यस वर्ष झापाको बाह्रदशी गाउँपालिकामा तीन स्थानमा छठ घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम तीव्र पारिएको छ। डाँगीबारी र अदुवाखोलालगायतका नदी किनारका क्षेत्रमा पर्व मनाउने तयारी भइरहेको छ। घग्राखोलामा मात्रै दुई सय जना व्रतालुले सहज रूपमा पूजा गर्न सक्ने गरी घाटको व्यवस्थापन मिलाइएको छ।

​छठको विस्तार धार्मिक र सांस्कृतिक गतिविधिमा मात्र सीमित छैन; यसले स्थानीय बजारमा समेत आर्थिक चहलपहल उल्लेख्य रूपमा बढाएको छ। पर्वका लागि आवश्यक पर्ने केरा, नरिवल, उखु, स्याउ, सुन्तला, अदुवा, बेसार, माटाका भाँडा तथा बाँसबाट बनेका ढाकी, नाङ्लो र सुप्पाको माग ह्वात्तै बढ्ने गर्छ।

​विशेषगरी बाँसका सामग्री बनाउने परम्परागत सीप भएका समुदायका लागि छठ आम्दानीको राम्रो अवसर बन्ने गरेको छ। झापालगायतका ठूला सहरका बजारमा छठ लक्षित किनमेल बढेको छ। यसले धार्मिक पर्वमार्फत कृषि उत्पादन, स्थानीय व्यापार र परम्परागत हस्तकलालाई बजारसँग जोड्ने महत्त्वपूर्ण काम गरेको छ।

​छठको बढ्दो विस्तारले सार्वजनिक जलाशयको महत्त्वलाई पनि उजागर गरेको छ। नदी, पोखरी र तलाउका किनारमा पूजा गरिने भएकाले जलस्रोतको स्वच्छता र संरक्षण यस पर्वसँग प्रत्यक्ष रूपमा जोडिएको छ। यद्यपि, सहभागीहरूको संख्या बढेसँगै घाट व्यवस्थापन, फोहोर संकलन र जलाशयको सरसफाइ ठूला चुनौतीका रूपमा देखिन सक्छन्। धार्मिक आस्थाका नाममा नदी तथा पोखरी प्रदूषित हुन नदिन आयोजक समिति, स्थानीय तह र श्रद्धालु सबैको जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण हुन्छ।

​छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। व्रतालुहरूले कठोर नियम र निष्ठाका साथ नदी, तलाउ तथा पोखरी किनारमा पुगेर सूर्यको उपासना गर्छन्। सूर्य, जल र पृथ्वीलाई जीवनको आधार मानेर गरिने यो पूजाले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई स्मरण गराउँछ।

​अध्येता एवं विश्लेषक सीके लालका अनुसार छठले जीवनचक्रलाई स्वीकार गर्न सिकाउँछ। «जुन कुराको सुरुवात हुन्छ, त्यसको अन्त्य पनि निश्चित छ र फेरि नयाँ सुरुवात हुन्छ। यसैलाई सूर्यको प्रतीकका रूपमा लिइएको छ र सूर्यकै विशेष पूजा हुन्छ,» उनी भन्छन्। उनका अनुसार मानव जीवनको निरन्तरता र प्रकृतिको चक्रलाई आत्मसात् गर्ने भाव छठसँग गहिरो रूपमा जोडिएको छ।

​चार दिनसम्म विभिन्न विधि र अनुशासनका साथ मनाइने छठको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुन्छ। यस दिन व्रतालुले नदी वा जलाशयमा स्नान गरी शुद्ध र सात्विक भोजन ग्रहण गर्छन्। दोस्रो दिन ‘खरना’ विधि गरिन्छ। दिनभर निराहार उपवास बसेर साँझ दूध, सखर र चामलबाट तयार पारिएको खीर तथा रोटी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। तेस्रो दिन अर्थात् षष्ठीका दिन व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जलाशयमा पुग्छन्। बाँसको सुप्पा, नाङ्लो तथा ढाकीमा नरिवल, केरा, उखु, ठेकुवा, भुसुवा र विभिन्न फलफूल राखेर अस्ताउँदो सूर्यलाई अर्पण गरिन्छ। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत विधिवत् रूपमा सम्पन्न हुन्छ।

​यस वर्ष शुक्रबार ‘नहाय–खाय’ बाट सुरु भएको छठ शनिबार ‘खरना’, आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुनेछ। «छठ पर्व धार्मिक आस्थासँगै प्रकृतिप्रतिको सम्मान र संरक्षणको सन्देश बोकेको पर्व पनि हो,» विश्लेषक लाल भन्छन्, «सूर्य, जल र पृथ्वीलाई जीवनको आधार मानेर गरिने यस पर्वले मानव जीवन र प्रकृतिबीचको गहिरो सम्बन्धलाई दर्साउँछ।’»

​मधेसको मौलिक पहिचान बोकेर सुरु भएको छठ आज देशका विभिन्न भूगोल र समुदायलाई जोड्ने साझा सांस्कृतिक उत्सव बन्दै गएको छ। बसाइँसराइले यसलाई नयाँ ठाउँमा पुर्‍यायो, स्थानीय सहभागिताले यसलाई साझा बनायो र यसको खुला प्रकृतिले समुदायबीचको दूरी घटाउन मद्दत गर्‍यो। छठको विस्तारले नेपाली समाजको विविधताभित्र रहेको एकताको सम्भावनालाई उजागर गरेको छ। संस्कृति कुनै निश्चित भूगोल वा समुदायको सीमाभित्र मात्र सीमित रहँदैन; आपसी सम्मान र सहभागिताले त्यसलाई राष्ट्रिय पहिचान बनाउन सक्छ भन्ने गतिलो सन्देश छठले दिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)