हल्दीबारी (झापा): झापाको हल्दीबारी गाउँपालिकामा एउटै परिवारका पाँच जना सदस्यको अल्पायुमै निधन भएपछि सिंगो गाउँ शोकमा डुबेको छ। विसं २०८२ साल चैत्रदेखि २०८३ साल कार्तिक महिनासम्मको जम्मा ७ महिनाको अवधिमा एकै परिवारका ५ जनाको ज्यान गएपछि दुई नाबालक बालबालिका पूर्ण रूपमा अभिभावकविहीन बनेका छन्। पछिल्लो पटक गत कार्तिक २७ गते दिउँसो १:०० बजे टिकाराम दर्जीको निधन भएपछि यो परिवारमा अब कक्षा १२ मा अध्ययनरत छोरी खुसी दर्जी र कक्षा १० मा अध्ययनरत छोरा मुस्कान दर्जी मात्र बाँकी रहेका छन्। अल्पायुमै परिवारका प्रमुख सदस्यहरू गुमाएका यी दुई बालबालिकाको भविष्य अहिले चरम संकटमा परेको छ।
स्थानीय लक्ष्मी दङ्गालका अनुसार यो परिवार लामो समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको थियो। निधन भएका परिवारका सदस्यहरूमध्ये तीन जना मिर्गौला पीडित थिए भने एक जनाको पाठेघरको शल्यक्रिया (अप्रेसन) गरिएको थियो र एक जनाको भने रोग नै पत्ता लाग्न नसकी ज्यान गएको हो। उपचार र पारिवारिक वियोगको दोहोरो पीडाले यो परिवारलाई पूर्ण रूपमा थिलथिलो बनाएको छ।
दर्जी परिवारमा सुरु भएको असामयिक निधनको यो शृङ्खलाले सबैलाई स्तब्ध बनाएको छ। विसं २०८२ चैत्र १८ गते जेठी भाउजू सरिता दर्जीको निधन भएको थियो भने त्यसको केही महिनापछि २०८३ भाद्र १४ गते आमा नरमाया दर्जीको निधन भयो। आमाको निधन भएको भोलिपल्टै अर्थात् भाद्र १५ गते जेठो दाजु खेम दर्जीको पनि ज्यान गयो। यसैगरी, २०८३ असोज ३० गते टिकाराम दर्जीकी धर्मपत्नी अनिषा दर्जीको निधन भयो भने एक महिनाको अन्तरालसमेत नबित्दै कार्तिक २७ गते टिकाराम दर्जीको पनि असामयिक निधन भयो। परिवारका मुख्य खम्बा मानिएका टिकारामको समेत निधन भएपछि घर पूर्ण रूपमा उजाड भएको छ। स्वर्गीय टिकाराम दर्जीको अन्त्येष्टि हल्दीबारी वडा नम्बर २ स्थित देउनिया घाटमा गरिँदैछ।
लगातारको पारिवारिक वियोग र उपचारमा भएको खर्चका कारण कक्षा १२ र १० मा अध्ययनरत खुसी र मुस्कानको पठनपाठन तथा लालनपालनमा गम्भीर संकट उत्पन्न भएको छ। आफन्त तथा स्थानीयवासीले यी दुई टुहरा बालबालिकाको भविष्य रक्षाका लागि स्थानीय सरकार, सामाजिक संघसंस्था तथा देशविदेशमा रहेका मनकारी महानुभावहरूलाई विशेष सहयोग र संरक्षणको अपिल गरेका छन्। अल्पायुमै परिवार गुमाएका ती असहाय बालबालिकालाई समाजले अभिभावकत्व प्रदान गर्नुपर्ने र राज्यले उनीहरूको शिक्षादीक्षाको जिम्मा लिनुपर्ने स्थानीयहरूको जोडदार माग रहेको छ। शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको छ।
