गान्तोक, १४ नोभेम्बर । राष्ट्रिय प्रेस दिवस २०२६ को पावन अवसरमा सिक्किम सरकारले पत्रकारिता र जनहितकारी समाचार सम्प्रेषणमा उत्कृष्ट योगदान पुर्याउने चार जना पत्रकारलाई सम्मान गर्ने भएको छ।
प्रेस काउन्सिल अफ इन्डिया (भारतीय प्रेस परिषद्) को स्थापनाको सम्झना तथा स्वतन्त्र र उत्तरदायी प्रेसको महत्त्वलाई आत्मसात गर्दै देशभर प्रत्येक वर्ष नोभेम्बर १६ का दिन राष्ट्रिय प्रेस दिवस मनाउने गरिन्छ।
छापा तथा विद्युतीय सञ्चारमाध्यममा २३ वर्षभन्दा बढीको अनुभव सँगाल्नुभएका वरिष्ठ पत्रकार डिल्लीराम दुलाललाई पत्रकारिता, सम्पादकीय नेतृत्व, साहित्य र जनहितकारी रिपोर्टिङमा पुर्याउनुभएको योगदानको कदरस्वरूप ‘वाई. एन. भण्डारी सर्वश्रेष्ठ पत्रकारिता पुरस्कार २०२६’ प्रदान गरिने भएको छ।
त्यसैगरी, सीएनएन-न्युज१८ र सिक्किम रिपोर्टरकी राज्य संवाददाता सृष्टि प्रधानलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीहरू—विशेषगरी सन् २०२३ को हिमताल विस्फोटन बाढी (जीएलओएफ) र अन्य जलवायुजन्य घटनाहरूको विस्तृत समाचार सम्प्रेषणका लागि ‘जलवायु परिवर्तन रिपोर्टिङका लागि मुख्यमन्त्री पुरस्कार २०२६’ प्रदान गरिनेछ।
डिजिटल सञ्चारमाध्यम ‘सिक्किम अवलोकन’ की संस्थापक अर्चना प्रधानलाई जनहितकारी पत्रकारितामार्फत महिलाका उपलब्धि, सरोकार र सशक्तीकरणका विषयलाई उजागर गर्नुभएकाले ‘महिला मुद्दा रिपोर्टिङका लागि मुख्यमन्त्री पुरस्कार २०२६’ बाट सम्मानित गरिने भएको छ।
यस्तै, ‘सिक्किम भ्वाइस’ का संस्थापक जीवन लिम्बूलाई आम नागरिकको मानव मर्यादा, कल्याण र अधिकारका पक्षमा जनमुखी पत्रकारिता गर्नुभएकाले ‘मानव अधिकार रिपोर्टिङका लागि मुख्यमन्त्री पुरस्कार २०२६’ प्रदान गरिनेछ।
यी पुरस्कारहरूले महत्त्वपूर्ण सामाजिक, वातावरणीय तथा विकासका मुद्दाहरूलाई उजागर गर्न र जनचेतना अभिवृद्धिमा पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गरेको छ।
