भद्रपुर (झापा) । झापाको भद्रपुर नगरपालिका–५ स्थित एक निर्माणाधीन घरबाट भारतबाट तस्करी गरी भित्र्याइएको १५ पोका लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भद्रपुर–५ निवासी सुकदेव सहनीको निर्माणाधीन घरको कोठामा लुकाएर राखिएको अवस्थामा ती सामान फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल भद्रपुर गुल्मका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय थापालाई प्राप्त विशेष सूचनाका आधारमा आइतबार बिहान छापा मारिएको थियो ।
बरामद गरिएका सामानमा लेडिज लेगिज, पञ्जालगायतका लत्ताकपडा छन् । प्रारम्भिक अनुसन्धानअनुसार ती सामान शनिबार राति भारतबाट मेची नदी हुँदै मेची पुलमुनिबाट तस्करी गरी नेपाल भित्र्याइएको खुलेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर र भद्रपुर भन्सार कार्यालयको नजिकै रहेको घरबाटै तस्करीका सामान बरामद भएपछि सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको निगरानी र सम्भावित मिलेमतोमाथि गम्भीर प्रश्न उठेको छ ।
सशस्त्र प्रहरीले तस्करीमा संलग्न समूहको पहिचान तथा संलग्न व्यक्तिहरूबारे अनुसन्धान जारी राखेको जनाएको छ । बरामद सामान भद्रपुर भन्सार कार्यालयमा बुझाइए पनि वास्तविक परिमाण र मूल्यांकन भने खुलाइएको छैन । स्रोतका अनुसार, बरामद सामानको मूल्यांकन कम गराएर भन्सार दाखिला गर्न तस्करीमा संलग्न समूहले सशस्त्र प्रहरीमाथि दबाब दिइरहेको छ ।
