समाचार
हल्दिबारी संवाददाता ३१ मिनेट अगाडि

दशौँ राष्ट्रिय खेलकुद नियमित गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता, नागरिक साथको अपेक्षा

झापा । प्रधानमन्त्री बालेन्द्र शाहले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित र स्तरीय बनाउने प्रतिबद्धता जनाएका छन्। कर्णालीवासीलाई सम्बोधन गर्दै सन्देश जारी गरेका उनले पहिलोपटक प्रदेशमा यति ठूलो खेलकुद प्रतियोगिता आयोजना हुनु अवसर भएको उल्लेख गर्दै स्थानीय नागरिकस्तरबाट साथ र समर्थनको अपेक्षा गरेका छन्।

​सन्देशअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। यद्यपि मुख्य खेलहरू भने मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्। कर्णालीका विभिन्न जिल्लामा हुने प्रतिस्पर्धामा आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुने जनाइएको छ।

​प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुदले नयाँ खेलाडीको पहिचान, प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। खेलकुदकै माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउन सकिने उनको भनाइ छ।

​हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भए पनि हालसम्म नौवटा मात्र संस्करण हुनु दुःखद रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। अब प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने उनले बताएका छन्।

​खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाउन प्रतियोगिताले प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले सन्देशको अन्त्यमा ‘जय कर्णाली ! जय खेलकुद ! जय जय नेपाल !’ लेखेका छन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)