समाचार
हल्दिबारी संवाददाता २६ मिनेट अगाडि

झापामा सिटी सफारी दुर्घटनामा एकको मृ ंत्यु,ं दुई घाइते

झापा, मंसिर ७ । झापाको शिवसताक्षी नगरपालिकामा तीनपाङ्ग्रे सिटी सफारी अनियन्त्रित भई सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

​शिवसताक्षी नगरपालिका–१० माईधारस्थित अधिकारी चोकमा सोमबार बिहान करिब ३ बजे माईधारबाट शिवगञ्जतर्फ जाँदै गरेको अनटेस्ट सिटी सफारी अनियन्त्रित भई सडकको बायाँतर्फ करिब तीन मिटर तल खसेको हो ।

​इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार दुर्घटनामा परी शिवसताक्षी–७ चन्द्रडाँगीका ४० वर्षीय हस्त राजवंशीको मृत्यु भएको छ । अनुहारको बायाँ भाग र कानबाट रगत बगी गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

​दुर्घटनामा सफारीमा सवार सोही स्थानकी ५० वर्षीया गंगा राजवंशी र १२ वर्षीय मुकेश राजवंशी घाइते भएका छन् । निधारमा चोट लागेकी गंगा र टाउकोको बायाँ भागमा चोट लागेका मुकेश सामान्य उपचारपछि घर फर्किएका छन् ।

​इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार झापा गाउँपालिकाको शरणामतीमा आइतबार साँझ लागेको मेला भरेर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटनालगत्तै सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)