समाचार
हल्दिबारी संवाददाता १७ मिनेट अगाडि

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आईएनबीडीए) को सातौँ महाधिवेशनले राहुल रेग्मीको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

​राजधानीको धुम्बाराहीमा शनिबार सम्पन्न महाधिवेशनले चयन गरेको कार्यसमितिको निवर्तमान अध्यक्षमा अजय सत्याल (अमेरिका), उपाध्यक्षद्वयमा डा. मनिता राजकर्णिकार र उत्तम अधिकारी (नेपाल), महासचिवमा तेज कटुवाल (कतार), सचिवद्वयमा रामराज ओली (न्युजिल्यान्ड) र मुक्तिराम पोख्रेल (अस्ट्रेलिया) तथा कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (यूएई) रहेका छन् । बाँकी सदस्य पछि मनोनयन गरिने संघले जनाएको छ ।

​चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रमा २२५ पटक रक्तदान गरिसकेका संघका प्रमुख संरक्षक अजय सत्याललाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा वक्ताहरूले संस्थाले रक्तदाता परिचालनसँगै नेपालको समग्र रक्तसञ्चार प्रणाली सुधार र रगतको सहज उपलब्धतामा सरकार तथा सरोकारवालासँग समन्वय गर्नुपर्नेमा जोड दिएका थिए ।

​सन् २०१४ मा स्थापित संघको हाल २१ देशमा सञ्जाल छ । नवनिर्वाचित कार्यसमितिले आगामी ६ महिनाभित्र थप ४ देशमा सञ्जाल विस्तार गर्ने र रक्तदान अभियानमा युवा सहभागिता बढाउने योजना अघि सारेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)