समाचार
हल्दिबारी संवाददाता ३१ मिनेट अगाडि

साउदीको तेल केन्द्रमा हुथी आक्रमण, एक नेपाली कामदारको मृत्यु

काठमाडौँ । साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र जजानस्थित तेल प्रशोधन केन्द्रमा यमनका हुथी विद्रोहीले गरेको आक्रमणमा परी एक नेपाली कामदारको मृत्यु भएको छ । बिहीबार भएको उक्त आक्रमणमा ती नेपाली श्रमिकले ज्यान गुमाएका हुन् ।

​साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणपछि तेल प्रशोधन केन्द्रमा आगलागी भएको थियो । घटनामा अन्य केही व्यक्ति घाइते भएको र सुरक्षा सतर्कताका कारण केन्द्रको काम अस्थायी रूपमा रोकिएको मन्त्रालयले जनाएको छ ।

​पछिल्लो समय साउदी अरब र इरानसमर्थित हुथी विद्रोहीबीच आक्रमण तथा प्रत्याक्रमणका घटना तीव्र बनेका छन् । यसअघि बुधबार पनि हुथी विद्रोहीले साउदीको प्रमुख तेल प्रशोधन केन्द्र ‘रास तनुरा’ मा आक्रमण गरेको दाबी गरेका थिए । उक्त आक्रमणका कारण त्यहाँ आगलागी हुनुका साथै तेल लोडिङ प्रक्रियासमेत प्रभावित भएको बताइएको छ ।

​हुथी समूहको आक्रमण बढेपछि साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी नियन्त्रित क्षेत्रमा सैन्य कारबाही तीव्र बनाएको छ । बिहीबार गठबन्धन सेनाले साना, होदेदा र सादा क्षेत्रका ५० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

​अर्कोतर्फ, हुथी नियन्त्रित यमनको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा साउदी गठबन्धनको आक्रमणमा परी कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको र २५ जना घाइते भएको दाबी गरेको छ । साउदी अरबमा नेपाली कामदारको मृत्यु भएको पछिल्लो घटनाले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको सुरक्षा चिन्ता थप बढाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)