भद्रपुर (झापा)– झापाका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटना र शङ्कास्पद घटनामा दुई जनाको मृत्यु भएको छ भने पुरानो रिसिइबीका कारण भएको धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

राजमार्ग नजिकै पुरुषको शव फेला

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–८ जोरसिमलमा शनिबार बेलुकी एक पुरुष मृत अवस्थामा फेला परेका छन् । राजमार्गबाट करिब ५० मिटर तल जमिनमा अन्दाजी ३५/४० वर्षका पुरुषको शव उत्तानो परेको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

​इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरी शव परीक्षणका लागि भद्रपुरस्थित प्रादेशिक मेची अस्पताल पठाएको छ । मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा घाइते पैदलयात्रीको मृत्यु

मेची राजमार्गको मेचीनगर नगरपालिका–१२ सयरडाँगी चोकमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–१३ का ४४ वर्षीय निमा तामाङ रहेका छन् ।

​गत जेठ ११ गते चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेका तामाङको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आर्थिक अभावका कारण परिवारले शनिबार (जेठ १५ गते) त्यहाँबाट डिस्चार्ज गराएका थिए । थप उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न मोटरसाइकल र बुद्धशान्ति गाउँपालिका–१ का २३ वर्षीय चालक नारायण भट्टराईलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

पुरानो रिसिइबीमा हतियार प्रहार

यसैगरी, झापाकै कन्काई नगरपालिका–५ चप्रामारीमा पुरानो रिसिइबीलाई लिएर बाटोमा हिँडिरहेका एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । आक्रमणबाट बाह्रदशी गाउँपालिका–७ का ३० वर्षीय सूर्यलाल राजवंशी गम्भीर घाइते भएका छन् ।

​शनिबार बेलुकी सवा ६ बजेतिर कन्काई–५ तुलसीबारी बस्ने २५ वर्षीय दीपक विष्टले राजवंशीलाई दाउ प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले आक्रमणकारी विष्टलाई वारदातमा प्रयोग भएको दाउसहित तत्कालै नियन्त्रणमा लिएको छ । घाइते राजवंशीको कन्काई नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ । पक्राउ परेका विष्टमाथि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार