चितवन, २ पुस – क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई गैर आवासीय नेपाली सङ्घले रक्त सङ्कलन गर्न घुम्ती बस सहयोग गरेको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार भन्सार र कर छुटबाहेक भारतीय रु ३५ लाखमा सङ्घले बस खरिद गरेको हो । रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको बस वाग्मती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको उहाँले जानकारी दिनुभयो ।
बसभित्र रक्तदान गर्ने, प्रेसर नप्ने र रक्त सङ्कलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ । बस प्राप्त भएसँगै बसभित्रै घुम्ती रक्तदानका कार्यक्रम गर्न सहज हुनेछ ।
सङ्घले पूर्वी चितवनको रत्ननगरमा अन्तरराष्ट्रियस्तरको राष्ट्रिय रक्तसञ्चार केन्द्र बनाउन प्रस्ताव गरेको पौडेलले जानकारी दिनुभयो । अहिले जिल्लामा दैनिक सय युनिट रगत माग भइरहेको छ । उहाँले भन्न्ुभयो, “मागअनुसार पूरा गर्न सकेका छैनौँ । दैनिक ५० युनिट रगत पु¥याउन पनि कठिन परेको छ ।”
पहिलेको तुलनामा केही रक्तदानका कार्यक्रम भए पनि यसले पर्याप्त नहुने उहाँको भनाइ छ । बिरामीका आफन्त, स्वयंसेवी रक्तदाताको भरमा चलिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले रगतको अभाव हुने समय नभए पनि कोरोना सङ्क्रमण त्रासले रक्तदान हुन नसकेको हो ।” पछिल्ला दिनमा दुर्घटना कम भएको भए पनि अस्पतालमा उपचारका लागि आउने बिरामी बढेसँगै रगतको माग बढेको छ ।
इच्छाकामनाको अस्पताललाई वजेट अभाव
इच्छाकामना गाउँपालिकामा निर्माण थालिएको अस्पताललाई बजेट अभाव भएको छ । गाउँपालिकाको वडा नं ४ कुरिनटारमा अस्पताल निर्माण थालिएको छ ।
गाउँपालिका अध्यक्ष गीता गुरुङका अनुसार सङ्घीय सरकारबाट सहयोग हुने अपेक्षासहित अस्पताल भवन निर्माण थालिएको हो । चालू आर्थिक वर्षमा गाउँपालिकाले रु ७० लाख अस्पतालका लागि बजेट विनियोजन गरेको छ । बजेट पाएमा अर्को वर्ष अस्पताल बनिसक्छ । गुरुङले भन्नुभयो, “सुविधा सम्पन्न २५ श्ययाको अस्पताल सम्पन्न गर्न रु १० करोड खर्च हुन्छ ।” सरकारले ३९६ पालिकामा एकैदिन अस्पताल शिलान्यास गर्दा आफ्नो गाउँपालिका त्यसमा नपरेकामा दुःख प्रकट गर्दै सङ्घीय सरकारले बजेट दिनेमा आफू आशावादी रहेको गुरुङको भनाइ छ ।
उहाँका अनुसार यस अस्पतालले इच्छाकामनासहित गोर्खाको गण्डकी र शहीद लखन, तनहुँको खैरेनी र धादिङको रोलाङ गाउँपालिकाका जनतालाई सेवा दिनसक्छ । इच्छाकामनामा २७ हजार जनसङ्ख्या रहेको छ जसमध्ये ११ हजार चेपाङ छन् । यसको अधिकांश भूभाग ग्रामीण क्षेत्रमा छ । काठमाडौँ भित्रने र बाहिरीने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्रमा भएकाले सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्नसक्ने गरी अस्पताल बनाउन लागिएको जनाइएको छ । उहाँले भन्नुभयो, “यस क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको आवश्यक छ ।” यहाँका सर्वसाधारण उपचारका लागि भरतपुर, काठमाडौँ र पोखरा जान बाध्य छन् । गाउँपालिकाबाट सदरमुकाम भरतपुर पुग्न ६० किलोमिटरसम्म यात्रा गर्नुपर्छ । गाउँपालिकामा हाल चार बर्थिङ सेन्टर र सात स्वास्थ्य चौकी सञ्चालनमा छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना, अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीले यस वर्ष शिलान्यास नभएका पालिकामा अर्को वर्ष अस्पताल थालिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले सबै पालिकामा पाँच वर्षभित्रमा अस्पताल बनाइसक्ने लक्ष्य लिएको छ ।” इच्छाकामना गाउँपालिकामा अस्पताल बनाउन आगामी वर्ष बजेट विनियोजन गर्न सकिने उहाँले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया गाउँपालिकाले पूरा गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लामा सात वटा पालिका छन् जसमा एउटा महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका हुन् ।
जिल्लामा कोरोनाले मृ,त्यु हुने सय पुगे
जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सय पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेशनमा रहेको समयमा मृत्यु हुनेको सङ्ख्या सय पुगेको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका ६०, खैरहनी नगरपालिकाका नौ, माडीका एक, रत्ननगरका १३, राप्तीका आठ, कालिका नगरपालिकाका आठ र इच्छाकामना गाउँपालिकाका एक जना रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका दुई ठूला मेडिकल कलेज, एक सरकारी अस्पताल र पुष्पाञ्जली अस्पतालमा उपचार गरिँदै आएको छ । यस्तै जिल्लामा सङ्क्रमितको सङ्ख्या छ हजार १६२ पुगेको छ । सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका चार हजार ३८६, खैरहनी नगरपालिकाका ३९४, माडीका ११७, रत्ननगरका ७४०, राप्तीका ३०६, कालिका नगरपालिकाका १८३ र इच्छाकामना गाउँपालिकाका ३६ जना छन् जसमध्ये पाँच हजार ७१५ जना सङ्क्रमण मुक्त भइसकेका छन् भने ३४७ जना विभिन्न आइसोलेशनमा रहेका छन् । रासस
















