बिर्तामोड (झापा) — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतको सत्ता केन्द्रित राजनीतिक अभ्यास र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा गहिरो असन्तुष्टि पैदा भएको स्वीकार गरेका छन् । उनले सरकार गठनको अंकगणितभन्दा जनताको मन जित्ने राजनीति नै कांग्रेसको भावी मार्ग हुनुपर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले विगतका कमजोरीबाट पाठ सिकेर नयाँ ऊर्जा र राजनीतिक संस्कृतिसहित जनतामाझ फर्किनुपर्ने आवश्यकता औंल्याए । स्पष्ट उद्देश्यबिना पटक–पटक गठबन्धन गर्ने र फेरि सहजै तोड्ने अभ्यासले जनतामा वितृष्णा बढाएको उनको विश्लेषण थियो ।

​‘पछिल्ला निर्वाचनमा कुनै उम्मेदवार मात्र पराजित भएका होइनन्, त्यो परिणाम कांग्रेसप्रति जनताले व्यक्त गरेको असन्तुष्टि र आक्रोश थियो,’ थापाले भने, ‘जनताले दिएको सन्देश बुझेर अब उनीहरूको विश्वास जित्नुपर्छ ।’ प्रधानमन्त्री बन्ने मोह र सत्ता प्राप्तिको प्रतिस्पर्धाले पार्टीको प्रतिष्ठामा क्षति पुर्‍याएको चर्चा गर्दै उनले कांग्रेस संसदबाट जन्मिएको पार्टी नभई कांग्रेसले संसद जन्माएको स्मरण गराए ।


आगामी १५औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘यदि कसैलाई गगन र विश्वप्रकाशले महाधिवेशन कब्जा गर्छन् भन्ने आशंका छ भने अधिवेशन सञ्चालन समिति तपाईंहरूले भनेका व्यक्तिको नेतृत्वमा बनाउन पनि म तयार छु, तर १४औँ महाधिवेशनका कमजोरी दोहोरिन दिइने छैन ।’

प्रधानमन्त्रीले माफी माग्नुपर्छ: विश्वप्रकाश शर्मा
​कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा पुस्तान्तरण भइसकेको र अहिले ५० वर्षमुनिको नेतृत्वले कांग्रेसको बागडोर सम्हालिरहेको बताए ।

उपसभापति शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाए । ‘यदि प्रधानमन्त्रीको भनाइ सत्य हो भने त्यसको प्रमाण सार्वजनिक गर्नुपर्छ, यदि होइन भने संसद्को रोष्ट्रमबाट सार्वजनिक रूपमा माफी माग्नुपर्छ,’ शर्माले भने । मुद्दा लागेका सांसदलाई पनि निलम्बन नहुने व्यवस्था ल्याएकोप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो निर्णयले सुशासन र नैतिक राजनीतिको मर्मविपरीत सन्देश जाने टिप्पणी गरे ।

स्थानीय मुद्दाहरूमा केन्द्रित हुँदै शर्माले झापाका चिया उद्योगमा देखिएको संकट समाधानका लागि सरकारले तत्काल वार्ताको पहल गर्नुपर्ने र मेचीनगरको बाहुनडाँगी क्षेत्रमा वर्षौंदेखि कायम रहेको जंगली हात्तीको आतंक नियन्त्रणका लागि स्थानीयको सुरक्षालाई केन्द्रमा राखेर नयाँ योजना अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

​सभापति थापा र उपसभापति शर्मा दुवैले भूमिहीन सुकुम्बासीको समस्यालाई निर्वाचन र भोट बैंकसँग जोडेर हेर्न नहुने धारणा राखे । उनीहरूको समस्या समाधान गर्नु राज्यको दायित्व र कांग्रेसको राजनीतिक जिम्मेवारी भएको नेताहरूको भनाइ थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री डिला संग्रौला, कोशी प्रदेश सभापति उद्धव थापा तथा नेतृ मन्दरा चिमरिया लगायतले संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाबारे आफ्ना भनाइ राखेका थिए ।

पार्टीका झापा जिल्ला सचिव नवीन विमलीले सञ्चालन गरेको उक्त कार्यक्रममा संघीय तथा प्रदेश सभा सदस्यहरू, मन्त्रीहरू एवं कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
522
+1
68
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार