हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी / घरायसी तनावका कारण सप्तकोशीमा हाम फालेर आत्महत्या गर्न लागेका एक पुरुषलाई सशस्त्र प्रहरीका सहायक हबल्दार डम्बर श्रेष्ठले सकुशल उद्दार गरेका छन् । श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ६० वर्षीय भुवन घिमिरेको सकुशल उद्दार गरेका हुन् ।
हप्तादिनदेखि घरायसी समस्याका कारण तनावमा रहेका घिमिरेले आत्महत्या गर्ने उद्देश्यले बुधवार दिउसो ३ः३५ बजे सप्तकोसी नदीमा हाम फालेको उद्धारपछि प्रहरीलाई बताएका छन् । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलका अनुसार उद्धारपछि घिमिरेले पारिवारिक तनावका कारण आत्महत्याको प्रयास गरेको बताएका हुन् ।
उनका अनुसार घिमिरेले सप्तकोसीमा हाम फल्ने बित्तिकै गस्तीमा रहेका सहायक हबल्दार डम्बर श्रेष्ठल सप्तकोशीमा पौडेर उद्दार गरेका हुन् । तनावमा रहेका घिमिरेले बुधबार बिहानैदेखि बराहक्षेत्र मन्दिर नजिकै सप्तकोशीमा हाम फालेर आत्महत्या गर्न उपस्थित भएको प्रहरीसँग बताएका छन् । सुरुमा मन्दिर नजिकै मानिसहरुको भीडले केही समय पर्खेका उनले कोही पनि मानिस नभएको मौका छोपी सप्तकोशीमा हामफालेको प्रहरीसँग स्वीकार गरेका हुन्। गस्तीमा गएका सशस्त्र प्रहरी सहायक हबल्दार श्रेष्ठ घिमिरेले सप्तकोशीमा हामफालेको देखेपछि बचाउन पुगेका थिए ।
श्रेष्ठले पौडीको सहायताले घिमिरेलाई सकुशल उद्धारपछि घिमिरेलाई प्राथामिक स्वास्थ्य उपचार पश्चात परिवारको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक पौडेलले बताए ।आत्महत्या गर्न कोशीमा हामफालेका घिमिरेलाई जीवितै उद्धार गर्न सक्दा खुसी लागेको श्रेष्ठले बताए ।

















