हल्दीबारी, झापा: नेपाल कुष्ठरोग सङ्गति (NLF) को आयोजनामा झापाको हल्दीबारी गाउँपालिकामा सञ्चालित ‘नेपाल लेप्रोशी फेलोशिप कार्यक्रम’ को समीक्षा तथा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका क्षेत्रभित्र कुष्ठरोग निवारणका लागि हालसम्म भएका प्रयासहरू, कार्यक्रमको प्रभावकारिता र आगामी दिनमा चाल्नुपर्ने कदमहरूका बारेमा कार्यक्रममा विस्तृत छलफल भएको थियो।

उक्त महत्त्वपूर्ण कार्यक्रमको सहजीकरण नेपाल कुष्ठरोग सङ्गति (NLF) झापा जिल्ला कार्यक्रम संयोजक पर्शुराम पोखरेलले गर्नुभएको थियो। सहजकर्ता पोखरेलले हल्दीबारी गाउँपालिकामा कुष्ठरोगको वर्तमान अवस्था, बिरामीहरूको पहिचान, उनीहरूको उपचारमा पहुँच र समाजमा रहेका भ्रम एवं विभेद अन्त्यका लागि सङ्गतिले गरिरहेका गतिविधिहरूमाथि प्रकाश पार्नुभयो। साथै, उहाँले स्थानीय सरकार र सरोकारवालाहरूको निरन्तर सहयोगले मात्र कुष्ठरोगमुक्त समाज निर्माण सम्भव हुने कुरामा जोड दिनुभयो।

अन्तरक्रियाका क्रममा सहभागीहरूले गाउँपालिकामा कार्यक्रमले पारेको सकारात्मक प्रभावको चर्चा गर्दै आगामी दिनमा समुदायस्तरमा अझ सचेतनामूलक कार्यक्रमहरू लैजानुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो।







