झापा । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फको जंगल क्षेत्रमा अचेत अवस्थामा भेटिएका इलाम दानाबारीका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
अन्दाजी २९ वर्षीय विकल गहतराजको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय जंगलबाट एकोहोरो कराएको आवाज सुनेपछि घटनास्थल पुगेका स्थानीयवासी र प्रहरीको टोलीले गहतराजलाई डाँडाभन्दा तल खोचमा छटपटाइरहेको अवस्थामा फेला पारेका थिए। स्थानीय राजु दंगालका अनुसार गहतराज निकै छटपटाइरहेको देखेपछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा उनले विष सेवन गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनास्थलको माथिल्लो भागमा एउटा मोटरसाइकल, हेल्मेट र तौलिया समेत फेला परेको छ।
घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ।








