झापा। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय चौहानको बिदाइ गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार प्रहरी वृत्त कालीमाटी, काठमाडौँको अपराध नियन्त्रण शाखामा सरुवा भएका चौहानलाई सोमबार एक विशेष समारोहका बिच धन्यवादसहित शुभकामना दिएर बिदाइ गरिएको हो।

झापा जिल्लामा रहेर अपराध अनुसन्धान र नियन्त्रणमा उनले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जिल्लामा भएका र हुन सक्ने सम्भावित अपराधहरूको न्यूनीकरण एवं सुरक्षा व्यवस्था चुस्त राख्न उनको ठुलो योगदान रहेको कार्यालयले जनाएको छ।

बिदाइ कार्यक्रममा झापाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) बशुन्धरा खड्काले निरीक्षक चौहानलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यक्षेत्रमा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरिन्। उनले चौहानले झापामा रहँदा व्यावसायिकता र कुशलताका साथ अपराध अनुसन्धानको जिम्मेवारी निभाएको समेत स्मरण गरिन्।
प्रधान कार्यालय मानवश्रोत विकास विभागको गत जेठ २७ गतेको निर्णयअनुसार उनको काठमाडौँ सरुवा भएको हो। अपराध अनुसन्धानमा निकै अब्बल मानिएका चौहानले झापामा देखाएको आफ्नो कार्यकौशलता अब संघीय राजधानी काठमाडौँको अपराध नियन्त्रणमा समेत सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
बिदाइ कार्यक्रममा झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन अवा, अन्य प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जानी कर्मचारीहरूको उपस्थिति रहेको थियो।







