झापा समाचारदाताभद्रपुर, १६ असार (३० जुन) ​विश्वकै पहिलो कृषि गेम रियालिटी शो ‘रेभोलुसनरी एग्रिकल्चर वार’ (रअ) को पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजना गरिएको भव्य ग्राण्ड फिनालेमा झापा, भद्रपुरका कृषि प्राविधिक सुमन बिमलीले ‘रअ क्लाइमेट अवार्ड’ (RAW Climate Award) हात पारेका छन् ।

आयोजकका अनुसार इतिहासमै पहिलो पटक प्रयोगमा ल्याइएको ‘वृक्षारोपणमा आधारित भोटिङ प्रणाली’ बाट सर्वाधिक अंक प्राप्त गर्दै बिमली विजेता बनेका हुन् । अवार्ड विजेता बिमलीलाई गृहजिल्ला झापा फिर्ता हुने क्रममा भद्रपुर विमानस्थलमा भव्य स्वागत तथा सम्मान समेत गरिएको छ । यसैगरी, मुख्य प्रतियोगितातर्फ किसान विधामा लक्ष्मण केसी र कृषि प्राविधिक विधामा समृद्ध भन्तना शीर्ष विजेता बन्न सफल भएका छन् ।

​नेपाली चलचित्रका महानायक राजेश हमालले ‘महाहोस्ट’ को रूपमा सञ्चालन गरेको यस शो विगत सात वर्षको गहन अध्ययन, अनुसन्धान र तयारीपछि निर्माण गरिएको हो । कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनका चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाइएको यस कार्यक्रमको उद्देश्य कृषिलाई सम्मानित पेसा र किसानलाई समाजको अग्रणी व्यक्तित्वको रूपमा स्थापित गर्नु रहेको निर्देशक शैलेश कँडेल क्षेत्रीले जानकारी दिए । देशभरका ७७ वटै जिल्लाबाट करिब १ हजार ६ सय किसान र कृषि प्राविधिकहरूले यस प्रतियोगिताका लागि आवेदन दिएका थिए । विभिन्न चरणका कडा प्रतिस्पर्धा पार गर्दै उत्कृष्ट प्रतिस्पर्धीहरू मात्र अन्तिम चरण (ग्राण्ड फिनाले) सम्म पुग्न सफल भएका थिए ।

​परिकल्पनाकार तथा निर्देशक क्षेत्रीका अनुसार ‘रअ’ ले प्रतियोगिता मात्र गराएन, यसले सामाजिक रूपान्तरणका बहुआयामिक अभियानहरू समेत सञ्चालन गरेको छ । विद्यालय जागरण अभियानमार्फत विद्यार्थीहरूलाई कृषिमा रहेका अवसरबारे प्रेरित गरिएको थियो भने नेतृत्व अभियानमार्फत कृषिका मुद्दालाई नीति निर्माण तहसम्म पुर्‍याउने प्रयास गरिएको थियो । अन्तर्राष्ट्रिय मञ्चहरूमा २७ भन्दा बढी देशका प्रतिनिधिहरूमाझ नेपालको कृषि र किसानको आवाज समेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ । यस शोको सबैभन्दा नवीन पक्ष वातावरण संरक्षणसँग जोडिएको भोटिङ प्रणाली रह्यो, जसमा दर्शकहरूले आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न बिरुवा रोप्नुपर्ने नियम बनाइएको थियो । यस हरित अभियानअन्तर्गत नेपालभर करिब २ लाख ७० हजारभन्दा बढी बिरुवा रोपिएको दाबी आयोजकको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार