चलचित्र विकास बोर्ड अनि नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न संस्थाहरूको सर-सहयोगमा भर्खरै सम्पन्न भएको ‘तेस्रो कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले ठूलै बाजी मारेको छ। काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा भव्य रूपले आयोजित यस समारोहमा उक्त चलचित्रले उत्कृष्ट चलचित्रसहित सबैभन्दा धेरै अवार्डहरू आफ्नो पोल्टामा पार्न सफल भयो। आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदा यसै चलचित्रबाट अभिनयका पारखी विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भए। पहिलो गाँसमै ढुङ्गा नलागी, आफ्नो पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशकको अवार्ड थापेपछि निर्देशक चौहानले आफ्नो कामको मूल्याङ्कन भएकोमा आयोजक टोलीलाई धन्यवाद दिँदै निकै खुशी भएको सुनाए।

​यता, निकै रुचाइएको चलचित्र ‘जेरी अन टप’ बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन्। आफ्नो जीवनकै यो पहिलो अवार्ड थापेपछि हर्षले गद्गद् बन्दै जसिताले यो खुसी र अवार्ड आफ्ना सम्पूर्ण प्यारा दर्शकहरूमा समर्पित गरेकी छन्। यसै गरी, नेपाली रुपैयाँ पर्दाका प्रख्यात अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरियो। अवार्ड थाप्दै अभिनेता शाहले यस सम्मानले आफूलाई समाजप्रति अझ धेरै जिम्मेवारी बोध गराएको बताउँदै आगामी दिनहरूमा पनि आफ्नो संस्था मार्फत सामाजिक कामहरूलाई निरन्तरता दिने बलियो प्रतिबद्धता जनाए। यसै समारोहमा कर्णाली एडिसन अवार्ड निर्देशक राज बहादुर सानेले प्राप्त गरे भने उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङको भागमा पर्यो। यस्तै, उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जित्यो भने कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई सम्मान टक्र्याइयो।

​महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा सञ्चालित यस कार्यक्रमको मुख्य आकर्षण भने ‘इतिहासलाई फर्केर हेर्दा – पहिलो चलचित्र अवार्ड संवाद’ रह्यो। वि.सं. २०४२ सालमा भारतीय चर्चित अभिनेत्री शबाना आजमीलाई नेपाल निम्त्याएर पहिलो पटक ‘नेपाल चलचित्र अवार्ड’ आयोजना गर्ने वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा यो ऐतिहासिक संवाद गराइएको थियो। वरिष्ठ निर्देशक तथा नेपाली चलचित्रका इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेको उक्त अन्तरक्रियामा पुराना दिनहरू सम्झिँदै वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्लले आफ्ना गौरवमय पुराना अनुभवहरू सुनाएर हलमा माहोल तताएका थिए। समारोहमा वरिष्ठ कलाकार शिव श्रेष्ठ र महोत्सवकी संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा विशिष्ट अतिथिको रूपमा आसनग्रहण गरेका थिए।

​समारोहलाई सम्बोधन गर्दै महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली चलचित्रको माध्यमबाट विश्वभरि चिनाउनु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको प्रष्ट पारे। कलाको सम्मानसँगै चलचित्रलाई पर्यटन प्रवर्द्धनसँग जोड्न आयोजक टोली निरन्तर अघि बढिरहेको उनले बताए। यता नेपाल पर्यटन बोर्डका वरिष्ठ म्यानेजर सूर्य थपलियाले पनि चलचित्र र पर्यटनको आपसी सम्बन्ध र त्यसमा पर्यटन बोर्डको भूमिकाबारे प्रकाश पारेका थिए। यस भव्य समारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, वरिष्ठ कलाकार तथा निर्माता रेखा थापा, अभिनेता दिल श्रेष्ठ, कलाकार हिमेश पन्त, निर्माता प्रेम पुरी, सामाजिक सञ्जालकी चर्चित कलाकार पवित्रा साँकी (मिस पबि), गीतकार हर्क साउद, महोत्सवकी सद्भावना दूत तथा अभिनेत्री सुरक्षा पन्त लगायत थुप्रै गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

​महोत्सवकी संरक्षक भवानी राणाले आयोजक संस्था ‘रेड चेरी मिडिया’लाई महोत्सवको निरन्तरताको लागि धेरै-धेरै शुभकामना टक्र्याइन् भने सल्लाहकार डा. महेन्द्रकुमार मल्लले आउँदा दिनहरूमा यो महोत्सवलाई अझ धेरै सुधारेर र जिम्मेवार रूपमा आयोजना गरिने कुरा बताए। स्मरण गराइन्छ, यस वर्षको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गत वैशाख १२ गते सुर्खेतबाट सुरु भएको थियो। त्यसपछि यसै महोत्सवको स्थानीय संस्करणको रूपमा सल्यानको प्रख्यात कुपिण्डे दह परिसरमा ‘कुपिण्डे दह चलचित्र तथा पर्यटन महोत्सव’ पनि धूमधामसँग आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार