काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा २३औं विश्व रक्तदाता दिवस भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका राष्ट्रिय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी यो दिवस मनाइएको हो। नेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री एवं विशेष अतिथि देवरत्न धाख्वाले निर्जला कर्माचार्यलाई रक्त संकलन थैली हस्तान्तरण गरेर कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभएको थियो। संस्थाप्रति समर्पित नेस्वरसको लोगो गीत श्रवण गरेर सुरु भएको उक्त कार्यक्रममा आजीवन सदस्य सुमन खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने निर्जला कर्माचार्यद्वारा उपस्थित सबैलाई ब्याज वितरण गरिएको थियो।

सो विशेष अवसरमा स्वयंसेवी रक्तदाताहरूलाई सांगीतिक माहौलबाट उत्प्रेरणा जगाउन तयार पारिएको ‘रक्तदान जागरण गीत’ र संस्थाले नियमित रूपमा प्रकाशन गर्दै आएको “हाम्रो रगत” पत्रिकाको सामूहिक लोकार्पण समेत गरिएको थियो। जागरण गीत निर्माणमा अमूल्य योगदान पुर्याउने वरिष्ठ संगीतकार एवं रेडियो नेपाल संगीत शाखाका पूर्वप्रमुख मनराजा नकर्मी, वरिष्ठ संगीत संयोजक जीवित जल्मी, मीन बहादुर गुरुङ, मोहन शाक्य, देबेन्द्र मान सिंह, गोविन्द आचार्य, अनिल श्रेष्ठ, शुलिन शाक्य, सतिस महर्जन, रत्नशोभा महर्जन, बीना भट्टराई, आशा नकर्मी, मीना नेपाली, लक्ष्मी पराजुली, कमला श्रेष्ठ, रोजी डंगोल श्रेष्ठ, रोजी श्रेष्ठ, सरिता शाही, एन्जिला श्रेष्ठ, रेकर्डिष्ट एवं मिक्सिङ्ग सुमन कपाली, गिटारवादक मदन सिं नेपाली र बाँसुरीवादक जे. बी. लामा लगायत सम्पूर्ण प्राविधिक तथा कलाकार टोलीलाई धन्यवाद एवं कदर-पत्र प्रदान गरिएको थियो।

मानवीय सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै नियमित रक्त संकलन शिविर संचालन गरिरहेका असन सेवा समिति र संकटा क्लबलाई संस्थाका तर्फबाट विशेष धन्यवादसहित कदर-पत्र प्रदान गरिएको थियो। त्यसैगरी, आपत्कालीन अवस्थामा आवश्यक पर्दा ‘अन-कल डोनर’ (On-Call Donor) का रूपमा योगदान पुर्याउने Rh -ve तर्फका रक्तदाताहरू रसिल महर्जन, प्रमोद ठाकुर, शिशिर ज्ञवाली, बीरेन्द्र स्थापित तथा Rh +ve तर्फका स्वयंसेवी रक्तदाताहरू बिक्की देउला, प्रकाशरत्न तुलाधर, प्रितमसागर कर्माचार्य र ज्ञानु तण्डुकारलाई सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा डब्लुएचओ नेपालका प्राविधिक अधिकृत Dr Arun Kumar Govindakarnavar, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्याथोलोजिष्ट डा. रेखा मानन्धर, नेपाल स्वयंसेवी रक्तदाता समाजका प्राविधिक सल्लाहकार एवं रक्त विशेषज्ञ डा. विशेष पौडेल, मनमोहन कार्डियोभास्कुलर थोरासिक सेन्टरका वरिष्ठ सर्जन डा. प्रभात खकुरेल, प्रादेशिक टोखा चण्डेश्वरी अस्पतालका मेसु डा. लक्ष्मण खड्का, त्रिवि बौद्ध अध्ययन विभागका उप-प्राध्यापक भिक्षु आनन्द, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रकी सल्लाहकार डा. मनिता श्रेष्ठ राजकर्णीकार र केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ता लगायतका चिकित्सक एवं विज्ञहरूको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले आ-आफ्नो शुभकामना मन्तव्य राख्दै स्वयंसेवी रक्तदानको महत्त्व, जनचेतना अभिवृद्धि र बिरामीको जीवन रक्षामा यस्ता अभियानको भूमिकाबारे प्रकाश पार्नुभएको थियो।
















